खाेज्नुहाेस

रवि ओडको सम्बन्ध विच्छेदको मुद्दा अदालतद्वारा अस्वीकृत

Image

धनगढी – नेपाल आइडल सिजन–२ का विजेता, गायक रवि ओडको सम्बन्ध विच्छेदको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनको दाबी नपुग्ने फैसला सुनाएको छ ।

श्रीमतीसँग कानुनी रूपमा छुट्टिन पाउँ भन्दै ओडले दायर गरेको मुद्दामा अदालतले डिभोर्स नहुने ठहर गरेको हो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलासले साेमबार उक्त मुद्दाको अन्तिम सुनुवाइ गर्दै ओड र उनकी श्रीमतीबिचको सम्बन्ध विच्छेद नगर्ने फैसला गरेको छ ।

attariya hospital
navjiwan hospital

अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार, दुवै पक्षको बहस र प्रमाणका आधारमा अदालतले सम्बन्ध विच्छेद नहुने निर्णय लिएको हो ।

‘अदालतले रविको माग बमोजिम सम्बन्ध विच्छेदको फैसला गरेको छैन, यद्यपि फैसलाको पूर्ण पाठ तयार हुन भने केही समय लाग्नेछ।’, उनले भने ।

सूचना अधिकारी चन्दका अनुसार विस्तृत फैसला पूर्ण पाठ तयार भई आउन करिब एक महिना लाग्न सक्छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी रवि ओडका लागि यो दोस्रो कानुनी झमेला थियो। यसअघि उनकी श्रीमतीले रवि विरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै २०८० चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

उक्त मुद्दामा सुरुमा पाँच लाख रुपैयाँ धरौटीमा छुटेका ओडलाई २०८१ असारमा अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको थियो। वैवाहिक बलात्कारको मुद्दा जिते पनि आफूहरू सँगै बस्न नसक्ने भन्दै रविले सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएका थिए । तर, यस पटकको अदालती फैसला भने उनको विपक्षमा आएको छ ।