बैतडी – महाकाली किनारमा भइरहेको उत्खननप्रति जिल्ला प्रशासन कार्यालय बैतडीले निगरानी थालेको छ । पञ्चेश्वर गाउँपालिका–४ जंगल्तडा क्षेत्रमा हाल उत्खननको काम भइरहेको छ । पाटन–पञ्चेश्वर सडकखण्ड स्तरोन्नतिको लागि महाकाली नदीबाट बालुवाजन्य सामग्री निकाल्ने काम भइरहेको छ । मेलौलीदेखि पञ्चेश्वरसम्मको सडक स्तरोन्नतिको जिम्मा पाएको कन्काइ कुमार जेभीले नदी उत्खनन गरिरहेको बताइएको छ ।
गाउँपालिकाका अनुसार सडक निर्माणका लागि आवश्यक बालुवाजन्य सामग्री संकलन गर्न मात्रै कार्यपालिका बैठकबाट निर्णय गरेर गत पुसदेखि निर्माण कम्पनीलाई उत्खननको अनुमति दिइएको हो ।

उत्खनन गरी ल्याइएको सामग्रीमा प्रति ट्याक्टर २ हजार ५ सय रुपैयाँ र प्रति टिप्पर ५ हजार ५ सय रुपैयाँ राजस्व उठाउने व्यवस्था गरिएको छ ।

निर्माण कम्पनीले स्काभेटर मेसिन प्रयोग गरेर नदीजन्य सामग्री संकलन गरिरहेको छ । तर, निर्माण कार्यका नाममा ढुंगा, गिट्टीलगायत अन्य सामग्री समेत उत्खनन भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले निगरानी कडा बनाएको हो ।
स्थानीयवासीका अनुसार महाकाली नदी क्षेत्रमा जेसीबी तथा स्काभेटर प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ । केही स्थानमा क्रसर सञ्चालन गरेर उत्खनन भइरहेको आरोप समेत लगाइएको छ ।
यिनै गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालयले यस महिनाभित्र मात्रै चार वटा टिप्पर नियन्त्रणमा लिएर सम्बन्धित पालिकाको जिम्मा लगाएको जनाएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई ले अवैधरूपमा उत्खनन भइरहेको गुनासो आएपछि प्रशासनको तर्फबाट निगरानी बढाइएको जानकारी दिए । यसअघि नियन्त्रणमा लिइएका टिप्पर पालिकालाई बुझाएर राजस्व संकलन गराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

















