बेलौरी – कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रबाट पछिल्लो समय भारतबाट तस्करी बढ्दो छ । भारत सँग सीमा जोडिएको बेलौरी र पुनर्वासबाट अवैध रूपमा भारतबाट समान नेपाल भित्रिरहेको हो ।

पछिल्लो समय सरकारले एक सय भन्दा बढी रुपैयाँका सर समानमा भन्सार शुल्क लगाएर सीमा क्षेत्रमा कढाइ गर्दा विभिन्न सीमाका चोर बाटाहरूबाट तस्करी भइरहेको छ ।
सीमा क्षेत्रमा तस्करी बढिरहेको समयमा सशस्त्र प्रहरीले कडा रूपमा निगरानी गरिरहेको छ । २ दिनमै बेलौरी पुनर्वासका सीमा क्षेत्रबाट २ लाख बढीका भन्सार छलीका सरसामान सशस्त्र प्रहरीले बरामद समेत गरेको छ ।
वैशाख २५ गते पुनर्वास नगरपालिका ९ काठे पुल सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल बिओपि बिचफाँटबाट खटिएको ५ जनाको सीमा गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मूल्य २३ हजार ५७० रुपैयाँ बराबरको कस्मेटिक सामान बरामद गरी आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालयमा पठाएको छ ।

त्यस्तै सोही दिन २५ गते बेलौरी नगरपालिका २ टेडुवा स्थित सीमा इलाकामा बिओपि थापाचोकबाट खटिएको ५ जनाको सीमा पैदल गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको ७ हजार बराबरको प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरेको छ । बरामद गरिएको कुखुरा खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सोही दिन २५ गते पुनर्वास नगरपालिका – ६ ङ गाउँ स्थित सशस्त्र प्रहरी बल, नेपाल बिओपि पुनर्वासबाट सप्रनि दीपेन्द्र बहादुर मल्लको कमान्डमा खटी गएको ९ जनाको सीमा गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको १ लाख ४१ हजार ७ सय बराबरको मोटरसाइकल एक थान, साइकल ४ थान र केरा २१७ दर्जन बरामद गरी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय पठाएको छ ।
त्यस्तै वैशाख २५ गते पुनर्वास नगरपालिका – ४ घ गाउँ स्थित सशस्त्र प्रहरी बल, नेपाल बिओपि आपतालबाट सप्रनि प्रेम सिंह बोहराको कमान्डमा खटी गएको ७ जनाको सीमा गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको ३२ हजार १ सय बराबरको ७५ केजी बोइलर कुखुरा र ९६ लिटर पेय पदार्थ (डिउ) बरामद गरेको थियो।
त्यस्तै वैशाख २६ गते बेलौरी नगरपालिका – १ फटिया सीमा ईलाका बिओपि आँपतालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राम बहादुर तामाङको कमान्डमा खटिएको ५ जनाको सीमा पैदल गस्ती टोलीले नम्बर प्लेट नखुलेको हिरो कम्पनीको मोटरसाइकल सहित ७० केजी प्रतिबन्धित बाेइलर कुखुरा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको थियो ।
त्यस्तै २६ गते बिओपि थापाचोकले ८७५० रूपैयाँ बराबरकाे बोईलर कुखुरा २५ केजी र १५ हजार बराबरकाे तोरी बरामद गरी भन्सार कार्यालय बुझाएको छ ।
















