बैतडी – बैतडीमा प्रधानाध्यापकमाथि कालोमोसो र जुत्ताको माला लगाएको आरोपमा चार जना पक्राउ परेका छन् । शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालय लोजनीका प्रधानाध्यापक दामोदर ओझामाथि बिहीबार कालोमोसो दल्दै जुत्ताको माला लगाएको थियो । प्रधानाध्यापक ओझाले एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीमाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउने कार्य गरिएको थियो ।
प्रधानाध्यापक ओझामाथि कालोमोसो र जुत्ताको माला लगाएको कुरा सामाजिक सञ्जालबाट व्यापक भएपछि प्रहरीले यो घटनामा चासो देखाएको थियो । प्रअमाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउने कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।


पक्राउ पर्नेमा ओझाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउने ३८ बर्षीया महिला तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेका प्रहरी निरीक्षक बडूले बताए ।
चारै जनालाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्नहरुलाई कानुन बमोजीम कारवाही गरिने प्रहरीले जनाएको छ । महताको परिवारले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुताको माला लगाएर सार्वजनिक रुपमा बेइज्जत गरेका थिए । उनीहरुले ओझाको घाँटीमा म अपराधी हुँ भन्ने पम्प्लेट समेत हालेका थिए ।


















