महेन्द्रनगर – कञ्चनपुर ३ बाट निर्वाचित सांसद ज्ञानेन्द्रसिंह महताले निर्वाचन क्षेत्रका जनताका समस्या गुनासा सुन्न सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन्।
शुक्रबारदेखि भीमदत्त नगरपालिका– १८, जानकी टोलमा महताले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन ।


सांसद महताले क्षेत्रका जनताका समस्या, गुनासा सुन्दै सम्बन्धित निकायमार्फत समाधानका लागि कार्यालय नै सञ्चालनमा ल्याएको बताए। महताले चुनावका वेला जनतासँग गरेका वाचाअनुरूप कामकाज गर्नका लागि समेत कार्यालय मार्फत आएका गुनासा, समस्या सम्बन्धित निकायमार्फत टुंग्याउने बताए।
‘सम्पर्क कार्यालयमा लिखित, मौखिक समस्या संकलन गरिनेछन्,’ महताले भने, ‘सोहीअनुरूप कार्यालय मार्फत आफूले पनि समस्या समाधानमा पहल गर्छु ।’ कार्यालयमा उपस्थिति हुन नसक्ने नागरिकहरूका लागि टोल फ्री नम्बर १८१०५००२६० नम्बरसमेत सार्वजनिक गरिएको छ।
त्यस्तै कार्यालयबाट विभिन्न सरकारी कामकाजका लागि आउने पैसा नहुने तिर्न नसक्ने सेवाग्राहीका लागि निःशुल्क फोटोकपीको समेत व्यवस्था गरेको महताले जानकारी दिए ।

















