खाेज्नुहाेस

बैतडीमा दलित समुदायका लागि वेद पाठ तालिम

Image

अत्तरिया – बैतडीमा दलित समुदायका लागि वेद पाठ तालिम आयोजना गरिएको छ । पाटन नगरपालिका – ७ कैलपाल रूपल्लीमा अवस्थित निलपाल देवताको मन्दिरमा वैशाख ११ देखि १३ गते सम्म ३ दिने वेद पाठ तालिम आयोजना गरिएको हो । संस्कार शिरोमणि ज्योतिषाचार्य गणेश प्रसाद पन्तले दलित समुदायका महिला तथा पुरुषलाई संयुक्त रूपमा वेद पाठ तालिम दिइएको बताए । उनले दलित समुदायलाई जनै धारण, दोरकका बारेमा समेत जानकारी दिएको बताउँदै आगामी गौरा पर्वमा धारण गरिने बताए ।

attariya hospital
navjiwan hospital

निलपाल देवताको मन्दिरमा दलित समुदायका पुजारी भए पनि वैदिक कर्मकाण्ड भने हुन सकेको थिए । यस पटक भने मन्दिरमा वैदिक कर्मकाण्ड सँगै वेद पाठ तालिम दिइएको ज्योतिषाचार्य पन्तले बताए । उनले भने ‘यस पटक ऐतिहासिक परिवर्तनको सन्देश दिँदै, जातीय विभेद अन्त्य गर्ने उद्देश्यसहित वैदिक विधिबाट विविध धार्मिक कार्यक्रम सम्पन्न गरिएको छ ।’

निलपाल देवताका धामी झाँक्री तथा मूल पुजारी धनवीर विकको अध्यक्षतामा भएको उक्त कार्यक्रमको आयोजना स्थानीय किसन बहादुर विकले गरेका थिए । उक्त कार्यक्रममा ज्योतिषाचार्य पन्तको उपस्थितिमा सत्यनारायण कथा, पूजा अर्चना, रूद्राभिषेक, चण्डी पाठ, अखण्ड हवन, तर्पण तथा ब्राह्मण भोजन जस्ता वैदिक विधिहरू सम्पन्न गरिएका थिए ।

देशमा कानुनी रूपमा जातीय विभेद अन्त्य भए पनि व्यवहारिक रूपमा अझै कायम रहेको अवस्थामा, यस कार्यक्रमले सामाजिक रूपान्तरणको महत्त्वपूर्ण सन्देश दिएको ज्योतिषाचार्य पन्तको बताए । पन्त विगत लामो समय देखि विभेद अन्त्य गर्न दलित समुदायमा तथा घरमा गएर धार्मिक कार्यक्रम गर्दै आएका छन् ।