धनगढी– डोटीको बडीकेदार मन्दिरमा मेला लाग्ने भएको छ । यही जेठ १७ र १८ गते सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक क्षेत्रका रुपमा परिचित बडीकेदार मन्दिरमा मेला लाग्ने भएको हो ।

सो शिवमन्दिरमा केदारनाथ बाबा मन्दिर रूपमा पूजाआजा हुने गरेको छ । खास गरेर सन्तान नहुनेले सन्तान माग्दा सन्तान प्राप्ति हुने विश्वास गरिने सो मन्दिरमा पूजाआजा गर्न नेपालका सुदूरपश्चिम प्रदेश, कर्णालीको दैलेख र भारतको उत्तरप्रदेश तथा उत्तराखण्डका धर्मालम्बी आउने गर्छन् ।

मन्दिरमा कात्तिक पूर्णिमा र महाशिवरात्रिमा पनि पूजाआजा हुने र मेला लाग्ने गर्दछ । बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार सो मन्दिरमा बाह्रै महिना पूजाआजा गर्न पाउने व्यवस्था गर्न थालिएको छ ।
पूजाआजासँगै हुने मेला व्यवस्थापनका लागि आफूहरूले पूरै तयारी गरेको बमले बताए । उनले मेलामा आउनेका लागि सामान्य खाना र बस्नको व्यवस्थापन पनि हुने बताए । उनका अनुसार अहिले खाने, बस्ने राम्रो व्यवस्था छैन । चाँडै त्यो व्यवस्था गर्ने गरेर पूर्वाधार निर्माणका लागि काम गरिरहेको उनको भनाई छ ।


















