काठमाडौं – इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ । इरानले जलमार्ग पुन: बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनै पनि जहाजलाई ‘निशाना बनाइने’ चेतावनी दिएको छ ।

फारसको खाडी र ओमान सागरबाट हर्मुजतर्फ बढ्ने जहाजलाई शत्रुसँगको सहकार्य मानिने पनि इरानले स्पष्ट पारेको छ । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानका प्रतिनिधिबीच भएको वार्तामा इरानले स्ट्रेट अफ होर्मुजको बाटो खुला गर्ने सहमति भएको थियो ।
तर लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने बताएका थिए । उनले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबीसमेत गरेका थिए ।

















