बैतडी – बैतडीको सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा शुक्रबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

श्रीभावरबाट पुर्चौडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चौडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, अर्को मोटरसाइकल चालक पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतसहित चार जना घाइते भएका छन । घाइतेमध्ये कठायत र पछाडि सवार हिक्मत कुँवरलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।
अन्य घाइतेमा सिगास गाउँपालिका–९ का ३४ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका २६ वर्षीय केशवबहादुर चन्द रहेका छन । उहाँहरूको अवस्था मध्यम रहेको जनाइएको छ ।















