शेरबहादुर ऐर, धनगढी – सुदूरपश्चिम प्रदेशमा पछिल्लो दशकमा कुखुरापालन व्यवसाय उल्लेखनीय रूपमा विस्तार भएको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको व्यवसायीक कुखुरापालन सम्बन्धी गरिएको सर्वेक्षण अनुसार यस प्रदेशमा कुखुरा फार्मको संख्या १० वर्षको अवधिमा ६१.८ प्रतिशतले वृद्धि भएको छ । २०७२ सालमा एक हजार ११३ फार्म रहेकोमा २०८२ सालसम्म आइपुग्दा यो संख्या एक हजार आठ सय एक पुगेको छ । यसले करिब ६८८ नयाँ फार्म थपिएको देखाएको छ । जसले यस क्षेत्रमा कुखुरापालन व्यवसाय तीव्र गतिमा अघि बढिरहेको देखाउँछ ।
सर्वेक्षण अनुसार एक हजार चार सय ६७ फार्म सरकारी निकायमा दर्ता भएका छन भने तीन सय ३४ फार्म सरकारी निकायमा दर्ता नभई सञ्चालनमा रहेका छन । प्रदेशमा पाँचदेखि १४ वर्षदेखि सञ्चालित फार्महरुको संख्या बढी रहेको छ । तथ्यांक अनुसार यहाँ नौ सय १२ रहेका छन भने पाँच वर्षभन्दा कम वर्षमा सञ्चालन रहेका सात सय ८०, पाँच वर्षभन्दा कम वर्षमा सञ्चालन रहेका छन । १५ देखि ३४ वर्षसम्म सञ्चालनमा रहेका फार्म एक सय आठ रहेका छन ।

सर्वेक्षण अनुसार प्रदेशमा व्यक्तिगत एक हजार सात सय ५७, साझेदारी २४ र प्राइभेट तथा पब्लिक लिमिटेडमा १८ वटा फार्म तथा अन्यमा दुई सञ्चालनमा रहेको उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशमा महिलाले सञ्चालन गरिरहेको फार्म मधेश प्रदेशको तुलनामा बढी भएपनि अन्य प्रदेशको तुलनामा न्युन रहेको छ । यस प्रदेशमा महिलाले सञ्चालन गरेको कुखुरापालन फार्म दुई सय ८९ (१६.२ प्रतिशत) रहेको छ । यहाँ पुरुषले सञ्चालन गरेको फार्मको संख्या एक हजार चार सय ९१ रहेको छ ।
उमेर अनुसार हेर्दा यहाँ ३५ देखि ४४ वर्ष उमेर समुहका सञ्चालकको संख्या बढी रहेको छ । यहाँ यो उमेर समुहका सञ्चालन सात सय नौ जना रहेको छ । जेन–जी उमेर समुह अर्थात २५ वर्षभन्दा मुनिका सञ्चालक ४३ जना रहेका छन । २५ देखि ३४ उमेर समुहका पाँच सय पाँच जना रहेका छन । ४५ देखि ५४ उमेर समुहका सञ्चालक तीन सय ८६ जना रहेका छन । ५५ देखि ६४ उमेर समुहका एक सय १० रहेको छ भने ६५ भन्दा माथिका २७ जना रहेका छन ।
शैक्षिक योग्यता अनुसार यस प्रदेशमा माध्यामिक तह प्राप्त गरेका सञ्चालकहरुको संख्या बढी रहेको छ । सर्वेक्षण अनुसार माध्यामिक तह प्राप्त सञ्चालकको संख्या आठ सय ९४ अर्थात (५०.२ प्रतिशत) रहेको छ । यहाँ निरक्षर व्यवसायीको संख्या २० अर्थात एक दशमलब एक प्रतिशत रहेको छ । उच्च स्नातक तह र सो भन्दामाथि दुई सय १५ सञ्चालक रहेका छन ।
यस प्रदेशमा अण्डा र चल्ला उत्पादनका लागि भन्दा बढी मासु उत्पादनमा फार्म सञ्चालकहरुको प्राथमिकता देखिन्छ । यहाँ कुल सञ्चालकमध्ये एक हजार सात सय ४३ जनाले मासु उत्पादन गर्ने व्यवसायीको संख्या रहेको छ । अण्डा उत्पादन गर्ने ५४ र चल्ला उत्पादन गर्ने व्यवसायीको संख्या चार रहेको छ ।

कुखुरापालन व्यवसायीहरुले रोजगारी सृजनामा पनि योग्दान गरेको देखिन्छ । यस प्रदेशमा कुखुरापालन व्यवसायी सञ्चालकले चार हजार नौ सय ३३ जनालाई रोजगारी दिएको देखिन्छ । जसमा महिला दुई हजार एक सय ५३ र पुरुष दुई हजार सात सय ७९ रहेको छ ।
यहाँ अण्डा उत्पादनमा जोड दिने लेयर्सभन्दा बढी बोइलर कुखुराको संख्या अत्याधिक रहेको छ । गणनाअवधिमा यहाँ १६ लाख आठ हजार एक सय ६२ बोइलर, दुई लाख ७९ हजार तीन सय ४१ लेयर्स, ८२ हजार नौ सय १५ कोइलर तथा गिरिराज, ३८ हजार आठ सय प्यारेण्ट तथा ग्रेण्ड प्यारेण्ट र २७ हजार एक सय २५ अन्य गरि २० लाख ३६ हजार तीन सय ४३ कुल कुखुरा फार्ममा रहेका थिए ।
सन्दर्भ वर्षमा यहाँ कुखुरापालनमा मध्यम स्तरको उत्पादन देखिन्छ । सन्दर्भ एक वर्षमा यहाँ ६९ लाख ३७ हजार दुई सय १३ बोइलर, तीन लाख ७२ हजार सात सय ७३ लेयर्स, दुई लाख ९८ हजार दुई सय १९ कोइलर तथा गिरिराज, एक लाख छ सय प्यारेण्ट तथा ग्रेण्ड प्यारेण्ट र १० हजार छ सय ८५ अन्य गरि ७७ लाख १९ हजार चार सय ८९ कुल कुखुरा पालिएका संख्या रहेको छ । बोइलर, कोइलर तथा गिरीराज र अन्य मासुका लागि उपयुक्त बजार ओगटेको देखिन्छ भने लेयर्स, कोइलर तथा गिरीराजले अण्डा तथा प्यारेन्ट बोइलर र प्यारेन्ट लेयर्सले ह्याचरीमा उपयुक्त मानिन्छ ।
सन्दर्भ एक वर्षमा सुदूरपश्चिम प्रदेशमा कोइलर तथा गिरीराजबाट सञ्चालकले राम्रो आम्दानी गरेको पाइएको छ । सर्वेक्षण अनुसार पाँच लाख ११ हजार चार सय ५५ किलोग्राम कोइलर तथा गिरीराजबाट ३४ करोड १२ लाख आम्दानी भएको देखिन्छ । एक करोड ५२ लाख ९२ हजार छ सय १८ किलोग्राम बोइलरबाट तीन अर्व ६० करोड २१ लाख, तीन लाख सात हजार चार सय ५१ किलोग्राम लेयर्स तथा प्यारेन्टबाट पाँच करोड ५४ लाख रकम आम्दानी भएको छ भने १३ हजार पाँच सय ६ किलोग्राम अन्यबाट एक करोड आठ लाख रकम गरि चार अर्व ८८ लाख आम्दानी भएको उल्लेख छ ।
सुदूरपश्चिममा कुखुरापालन बृद्धि भएको देखिएपनि बिमा दर भने सबैभन्दा न्युन रहेको छ । सन्दर्भ वर्षमा देशभरका करिव ४.१ प्रतिशत मात्र कुखुरापालन फार्म विमित रहेकोमा सुदूरपश्चिममा बिमा दर २.७ प्रतिशत रहेको छ ।
यस सन्दर्भमा व्यवसायलाई यथावत सञ्चालन गर्ने कुल सञ्चालकमध्ये ३५ दशमलब आठ प्रतिशत रहेको छ भने ५६ दशमलब पाँच प्रतिशतले क्षमता वृद्धि गर्ने बताएका छन भने तीन दशमलब एक प्रतिशतले क्षमता कम गर्ने र चार दशमलब छ प्रतिशतले व्यवसाय बन्द गर्ने बताएको सर्वेक्षणमा उल्लेख छ ।
व्यवसायी बन्द गर्नुको प्रमुख कारण बजार अभाव रहेको देखिन्छ । सर्वेक्षण अनुसार ३९ दशमलब एक प्रतिशत व्यवसायीहरुले बजार अभावका कारण बन्द गर्ने तयारी, ३२ दशमलब चार प्रतिशतले पुँजि अभाव, पाँच दशमलब ९ प्रतिशतले चल्लाको गुणस्तरमा कमी, सात दशमलब तीन प्रतिशतले कामदारको अभाव, एक दशमलब चार प्रतिशतले व्यवस्थापनमा समस्या र ९ दशमलब सात प्रतिशतले अन्य कारण देखाउँदै बन्द गर्ने मनसाय बनाएको उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशमा कुखुरापालन व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ । यसले रोजगारी सिर्जना, आम्दानी वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको सर्वेक्षणले देखाउँछ । तर बजार पहुँच, बिमा, पूँजी र प्राविधिक ज्ञानजस्ता चुनौतीहरू समाधान नगरेसम्म यो क्षेत्र दीगो रूपमा अघि बढ्न सक्दैन ।
सरकार, निजी क्षेत्र र किसानबीच सहकार्य गरी बजार व्यवस्थापन, वित्तीय पहुँच विस्तार, प्राविधिक तालिम तथा बिमा प्रणाली सुदृढ गर्न सके कुखुरापालन व्यवसाय अझ सशक्त र प्रतिस्पर्धी बन्ने सर्वेक्षणले देखाएको छ ।


















