खाेज्नुहाेस

बडुवाल र चौधरीको चुनावी घोषणा पत्र सार्वजनिक, ६/६ महिनामा सांसदसँग युवा संवाद कार्यक्रम सञ्चालन गर्ने योजना

Image

अत्तरिया– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार भीम बडुवाल र समानुपातिक उम्मेदवार रिताकुमारी चौधरीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । उनीहरूले मङ्गलवार १३ बुँदा समावेश गरी विभिन्न विषयवस्तुहरू समेटेको घोषणा पत्र सार्वजनिक गरेका हुन ।

उनीहरूले १२ बुँदामा आफूहरूले गर्ने कार्यमा विषयमा प्रस्ट पारेका छन् भने १३ नम्बर बुँदामा ती कार्यहरू गर्नका लागि कसरी स्रोतको व्यवस्थापन गर्ने भन्ने विषय पनि उल्लेख गरेका छन् । बडुवाल र चौधरीले सार्वजनिक गरेको चुनावी घोषणा पत्रको पहिलो बुँदामा दृष्टिकोण र सङ्कल्प प्रस्तुत गरिएको छ । जसमा उनीहरूले सुशासन युक्त समाज, जबाफदेही सरकार, भ्रष्टाचार मुक्त राजनीति र समृद्ध कैलाली क्षेत्र नम्बर ३ निर्माण गर्ने दृढ सङ्कल्पका साथ आफूहरू निर्वाचनमा होमिएको बताएका छन् ।

attariya hospital

त्यसबाहेक निर्वाचन क्षेत्र नं. ३ मा शिक्षा, स्वास्थ्य, सुरक्षित बस्ती, रोजगारी र आधुनिक पूर्वाधारको दिगो विकासलाई प्राथमिकतामा राखी जनताको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता समेत उनीहरूले व्यक्त गरेका छन् । दोस्रो नम्बर बुँदामा उनीहरूले राष्ट्रिय गौरव तथा ठुला विकास आयोजनालाई राखेका छन् । जसमा ठुला तटबन्ध निर्माण देखी लिएर हरित कोरिडोर तथा बाई रोड निर्माण सम्मका योजना समावेश गरिएको छ । त्यति मात्रै नभई घोरीघोरा ताल क्षेत्रको विकासका लागि समिति निर्माण गरिने, थारुहरूको धार्मिक पर्यटन उन्नयनका लागि क्षेत्र नं. ३ का कला संस्कृति झल्कने गरी थारु सङ्ग्रहालय निर्माण गरिने, औद्योगिक ग्राम स्थापना गर्ने, औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याउने लगायतका योजनाहरू समावेश गरिएको छ ।

तेस्रो बुँदामा बडुवाल र चौधरीले कृषि, किसान र सिँचाइ विकासलाई अघि सारेका छन् । उनीहरूले घोषणा पत्रमा विभिन्न सिँचाईका योजनाहरू निर्माण गर्ने, सहकारीमार्फत व्यवसायीक खेतीलाई बढावा दिने, छाडा चौपायाको उचित व्यवस्थापन गर्ने लगायतका योजना राखेका छन् । चौथो बुँदामा राखिएको बाढी, नदी नियन्त्रण र सुरक्षित बस्ती शीर्षकमा डुबान क्षेत्रको दीर्घकालीन समाधान गरिने योजना समावेश गरिएको छ । त्यस्तै पूर्व सूचना प्रणाली, जोखिम क्षेत्रको नक्सांकन र बाढी प्रभावित परिवारका लागि सुरक्षित आवास कार्यक्रम ल्याइने समेत उनीहरूले बताएका छन् ।

पाँचौँ नम्बरमा समावेश गरिएको सडक तथा भौतिक पूर्वाधार विकास शीर्षकमा उनीहरूले सो क्षेत्रका विभिन्न भौतिक पूर्वादारहरू निर्माण गर्ने योजना राखेका छन् । सो क्षेत्रमा पर्ने सबै पालिकाहरूमा आधुनिक स्टेडियम निर्माण तथा प्रत्येक वडाहरूमा सुविधायुक्त खेलमैदान निर्माण गरिने पनि योजनामा समावेश गरिएको छ ।

navjiwan hospital

शिक्षा सुधार र सीप विकास शीर्षक दिइएको छैटौँ बुँदामा सामुदायिक विद्यालयहरूको शिक्षामा गुणस्तर ल्याउने कार्य गर्ने योजनाहरू समावेश गरिएका छन् । जस अन्तरगत विद्यालयहरू मर्जर गरी पर्याप्त दरबन्दी व्यवस्था गरिने, पालिकाहरूमा प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार गर्ने, कृषि क्याम्पस निर्माणका लागि जोड दिइने लगायतका योजना रहेका छन् ।

सातौँ नम्बरमा रहेको स्वास्थ्य सेवा सुदृढीकरण शीर्षकमा प्रत्येक पालिकामा १५ देखी २५ शैय्यासम्मको सुविधा सम्पन्न अस्पताल स्थापना तथा स्तरोन्नति गर्ने बताइएको छ । त्यसबाहेक सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार देखी एम्बुलेन्स सेवा विस्तार, सिकलसेलको निःशुल्क उपचार, ५ लाख सम्मको स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने लगायतका योजनाहरू पनि सो शीर्षकमा राखिएको छ ।

त्यसैगरी आठौँ बुँदामा राखिएको खानेपानी, विद्युत् र सञ्चार शीर्षकमा सबै वडामा शुद्ध खानेपानीको पहुँच सुनिश्चित गरिने भनिएको छ । त्यस्तै विद्युत् महसुल दर न्यूनतम कायम गर्ने विषय समेत सो शीर्षकमा राखिएको छ ।

बडुवाल र चौधरीले पर्यटन, भाषा, कला, संस्कृति र वातावरण संरक्षणलाई नवौँ बुँदाका रूपमा राखेका छन् । जसमा सो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको विकास र संरक्षण गर्ने कुराहरू राखिएको छ । त्यसबाहेक विद्यालयमा थारु भाषा शिक्षण प्रोत्साहन गर्ने, थारु समुदायको भलमन्सा÷बडघरको जगेर्ना गरिने, भाषा, कला, संस्कृति सम्बन्धी अनुसन्धान, सङग्राहलय स्थापना र प्रकाशन गर्ने काम बढाइने बताइएको छ ।

दशौँ नम्बरमा राखिएको युवा, रोजगारी र उद्यमशीलता शीर्षकमा उनीहरूले जेन जी युवालाई लक्षित गरी ६/६ महिनामा सांसदसँग युवा संवाद कार्यक्रम सञ्चालन गरिने बताएका छन् । उनीहरूले सो शीर्षकमा युवा उद्यमशीलता कोष स्थापना गरिने, कृषिमा आधारित युवा उद्यम कार्यक्रम सञ्चालन गरिने र प्रत्येक पालिकामा डिजिटल सिकाइ केन्द्र स्थापना गर्न पहल गर्ने तथा युवालाई डिजिटल मार्केटिङ, अनलाइन रोजगार तथा बजारको माग अनुसारको प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालनको व्यवस्था गरिने योजना समावेश गरेका छन् ।

त्यसैगरी एघारौँ नम्बरमा महिला, दलित, सुकुम्वासी, मुक्त कमैया, मुक्त कम्लहरी तथा पिछडिएको समुदायका विभिन्न कार्यक्रमहरू समावेश गरिएको छ । बाह्रौँ नम्बरमा उनीहरूले सुशासन र पारदर्शिताको कुरालाई अघि सारेका छन् । जसमा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाइने, जनताको गुनासो सुनुवाइ संयन्त्र स्थापना गरिने, बजेट र योजना सार्वजनिक गर्ने व्यवस्था गरिने तथा २०४६ साल पछिका सार्वजनिक पद धारण गर्ने उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सम्बन्धी कानुन बनाउनमा पहल गरिने कुराहरू समावेश गरिएको छ ।

माथि उल्लेखित योजनाहरूका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन गर्ने कुरा पनि बडुवाल र चौधरीले चुनावी घोषणा पत्रमा समावेश गरेका छन् । जसमा विकास निर्माणका योजनाहरू पुरा गर्नका लागि आवश्यक पर्ने पुँजीको स्रोत व्यवस्थापनको कुरा समेटिएको छ ।