धनगढी– सुदूरपश्चिम प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सबैभन्दा ठुलो दल बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण भई गठन निर्माण भएसँगै नेकपा प्रदेशसभामा ठुलो दल बन्न पुगेको हो ।

यी तीनै दलका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठकले गरेको निर्णयलाई औपचारिक रूपमा प्रदेशसभा सचिवालयमा जानकारी गराइएको हो । नयाँ गठित नेकपाको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । यसअघि माओवादी केन्द्रको संसदीय दलको नेतृत्व गरिरहेका भट्टको नेतृत्वमा १५ जना सांसदहरूको भौतिक उपस्थितिमा यो निर्णय गरिएको हो । नेता भट्टका अनुसार निर्वाचनको व्यस्तताले उपस्थित हुन नसकेका अन्य सदस्यहरूले पनि पार्टी एकता र नेतृत्व चयनमा आफ्नो सहमति जनाइसकेका छन् ।

दलको आन्तरिक संरचनालाई व्यवस्थित गर्न बैठकले विधान मस्यौदा कार्यदल पनि गठन गरेको छ । पाँच सदस्यीय उक्त कार्यदलमा रमेशसिंह धामी, ओमविक्रम भाट सरल’ खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी समेटिएका छन् । यो एकीकरणसँगै २१ सांसदसहित नेकपा सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठुलो शक्ति बनेको छ । जसमा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ३ जना सदस्य समावेश छन् ।
यसअघि पहिलो स्थानमा रहेको नेपाली कांग्रेस अब १८ सांसदसहित दोस्रो स्थानमा झरेको छ । त्यस्तै, एमालेका ११ र राप्रपाका १ सांसद रहेका छन् भने स्वतन्त्र सांसद तारा जोशीले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्न राजीनामा दिइसकेका छन् ।















