अंकारा (एजेन्सी) – टर्कीको सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ । टर्कीका रक्षामन्त्रीले विमानमा सवार सबैको मृत्यु भएको बुधबार घोषणा गरे ।

अजरबैजानको गान्जाबाट टर्की जाँदै गरेको सी–१३० बिमान मंगलबार अजरबैजानको सीमानजिकै जर्जियाको सिघनाघीमा दुर्घटनाग्रस्त भएको हो ।

विमान दुर्घटनाको कारणको हाल अनुसन्धान भइरहेको छ । टर्कीको अनुसन्धान टोली दुर्घटनास्थलमा पुगेर जर्जियाली अधिकारीहरूसँग समन्वय गरी विमानको भग्नावशेषको निरीक्षण गरिरहेका त्यहाँको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ ।
जर्जियाली गृहमन्त्री गेला गेलाड्जेले अहिलेसम्म १८ जना पीडितको अवशेष निकालिएको र अन्य दुई जनाको पत्ता लगाउने प्रयास जारी रहेको बताए । दुर्घटनास्थलमा बोल्दै गेलाड्जेले सैन्य संवेदनशीलताका कारण टर्कीका अधिकारीहरूसँग समन्वय गरी दुर्घटनासम्बन्धी विवरण चरणबद्ध रूपमा जारी गरिने जानकारी दिए ।


















