अत्तरिया – सुदूरपश्चिम प्रदेशलाई नेपालकै सूचना प्रविधि केन्द्र (आइटी हब) का रूपमा विकास गर्ने उद्देश्यका साथ, टेक पाइला इनोभेसन्स र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमले अभियान सुरु गरेका छन् । शिक्षा, रोजगारी र प्रविधि–आधारित विकास मार्फत सम्पूर्ण सुदूरपश्चिमलाई डिजिटल रूपान्तरणतर्फ अग्रसर गराउने उद्देश्यले अभियान सुरु गरिएको हो । रोजगारीमुखी आइटी शिक्षामार्फत युवालाई सशक्त बनाउँदै नेपालका युवाहरूको प्रविधिप्रतिको बढ्दो चासोलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित रोजगारीमुखी आइटी कार्यक्रमहरू सञ्चालन गर्न अभियान सुरु गरिएको नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमका अध्यक्ष विनोद मल्ल –विप्लव) ले बताए ।
यस अन्तर्गत कोडिङ, कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ लगायतका अत्याधुनिक विषयहरू समावेश गरिएका छन् । जसले युवाहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने अपेक्षा लिइएको छ । टेक पाइला इनोभेसन्सले डिजी ग्रुप सँग सहकार्य गरी सुदूरपश्चिमका २०० भन्दा बढी विद्यालय र कलेजहरू सँग साझेदारी गर्दै, तिनीहरूलाई आधुनिक सफ्टवेयर प्रणाली र युकेका प्रतिष्ठित NCC Education द्वारा प्रदान गरिएको नवीनतम आइटी पाठ्यक्रमसहित सशक्त बनाउन मदत पुग्ने बताइएको छ ।


घरमै बसेर विश्व बजारमा काम गर्ने अवसर
यस कार्यक्रममार्फत नेपाली युवाहरूले क्लाउड प्लेटफर्ममा आधारित भर्चुअल रोजगारीका अवसरहरू पाउन सक्नेछन् । यसले उनीहरूलाई उच्च तलबका अन्तर्राष्ट्रिय आइटी कामहरू घरमै बस्दै गर्न सक्षम बनाउँछ । नेपाली युवाहरूबिच रिमोट जब र फ्रीलान्सिङ लोकप्रिय बन्दै गएको सन्दर्भमा, यस पहलले कर सम्बन्धी सहजता र नीति सुधार का लागि पनि आवाज उठाउनेछ ।
‘यो केवल शिक्षाको कार्यक्रम होइन, यो आर्थिक रूपान्तरणको अभियान हो’ चेम्बरका सुदूरपश्चिमका अध्यक्ष मल्लले भने ‘जब हाम्रो युवा पीढी विश्व स्तरका प्रविधि सीप सिकेर घरमै बसेर काम गर्न सक्षम हुन्छ, देशमा रेमिटेन्स बढ्छ, आइटी रोजगारी विस्तार हुन्छ, र युवा देशमै बस्न सक्छन् ।’

क्षेत्रीय र राष्ट्रिय स्तरमा प्रभाव

सुदूरपश्चिम आइटी हब परियोजना नेपालको डिजिटल नेपाल अभियान सँग प्रत्यक्ष सम्बन्धित छ । यसले अवसरहरूको केन्द्रीकरण घटाउँदै, सुदूरपश्चिमलाई प्रविधिमैत्री र रोजगारीमुखी प्रदेशका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । स्थानीय प्रतिभा र प्रविधि–आधारित उद्यमशीलतालाई प्रोत्साहन दिँदै, यो सहकार्यले सुदूरपश्चिमलाई टिकाउ, प्रविधि–केन्द्रित आर्थिक विकासको आदर्श प्रदेश बनाउनेछ ।
त्यसै गरी, “लर्न एन्ड अर्न” नामक कार्यक्रममार्फत विद्यार्थीहरूलाई अध्ययनसँगै कमाउने अवसर दिलाइनेछ, जसले शिक्षा र रोजगारीलाई सँगसँगै अघि बढाउने वातावरण सिर्जना गर्नेछ ।
आइटी हब बनाउन छलफल
यसैबिच सुदूरपश्चिमलाई आइटी हब बनाउन नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चेम्बर अफ कमर्सका आइटी सभापति विज्ञान श्रेष्ठको सहभागितामा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा धनगढीका वाल्मीकि इन्टरनेसनल स्कुल, ऐश्वर्या विद्या निकेतन, कैलाली मोडल स्कुल, कैलाली मल्टिपल क्याम्पस, सुदूरपश्चिम एकेडेमी, आरएनबीएस कलेज लगायत शिक्षाविद्हरूको सहभागिता रहेको थियो भने अत्तरियामा रहेको दुर्गा लक्ष्मी नमुना विद्यालय र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, एभरेष्ट एकेडेमी, लोटस आई स्कुल, सत्यवती एकेडेमी, जनकल्याण सेकेण्डरी स्कुल, ज्ञान ज्योति स्कुल , किड्स जोन, दुर्गा मावि, खप्तड मावि, रिच एकेडेमी, भजनदेवी स्कुलको सहभागिता रहेको थियो ।
महेन्द्रनगरको ब्राइट लाइफ इंस्टीट्यूटमा भएको सेमिनारमा प्याब्सनका वरिष्ठ पदाधिकारी र सरकारी स्कुलका अध्यक्षहरू प्रधानाध्यापकहरू लगायत शिक्षा क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रममा महेन्द्रनगरको न्यु सरस्वती विद्या मन्दिर, होली फेमली, आदर्श विद्या निकेतन, महेन्द्र मावि साधारण बैजनाथ मावि, भृकुटी मावि, वेस्टर्न पब्लिक स्कुल, युनाइटेड पब्लिक स्कुल, घटाल बहुमुखी क्याम्पस, त्रिभुवन मावि, सार्क स्कुल, महेश्वर मावि, कृष्ण बहुमुखी क्याम्पस झलारी, सरस्वती मावि, फार्वेष्ट स्कुल अफ मेडिसिन, लिटल स्टार पब्लिक स्कुल, कालिका मावि कृष्णपुर लगायतका विद्यालयहरूको सहभागिता थियो ।















