खाेज्नुहाेस

सुदूरपश्चिममा गत आर्थिक वर्षमा १३६ नमुनामा रेबिज पुष्टि

Image

कञ्चनपुर– गत आर्थिक वर्षमा सुदूरपश्चिममा १३६ नमुनामा रेबिज पुष्टि भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा संकलित १७० नमुनामध्ये १३६ मा रेबिज पुष्टि भएको हो ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार गत आर्थिक वर्षमा संकलित नमुनामध्ये सबैभन्दा बढी कैलालीमा संक्रमण भेटिएको छ । त्यहाँ संकलन गरिएका ९८ नमूनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये ६ पोजेटिभ परिणाम आएको छ ।

attariya hospital
navjiwan hospital

जोशीका अनुसार रेबिज फैलाउनमा मुख्य भूमिका कुकुरको देखिएको छ । परीक्षण गरिएका ८७ कुकुरका नमूनामध्ये ७२ मा रेबिजको संक्रमण पाइएको छ । त्यस्तै, भैँसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, घोडाका २, बङ्गुरका सातमध्ये ५ र खरायोको एउटा नमूनामा पनि पोजेटिभ देखिएको छ । प्रयोगशालाले आ.व. २०७६÷७७ बाट रेबिज रोग अन्वेषण तथा सर्भिलेन्स सुरु गरेको हो । सुरुमा दुई नमूनामात्र पोजेटिभ पाइएकामा २०७९/८० मा ३९, २०८०/८१ मा १५७ र चालु वर्षमा १३६ पोजेटिभ देखिएको छ ।

‘रेबिज पशुबाट मानिसमा सर्ने रोगका रूपमा रहेको छ’ जोशीले भने ‘यो रोग जङ्गली जनावर स्याल, ब्वाँसो, फ्याउरो आदिबाट घरपालुवा कुकुर, बिरालोलगायतमा सर्छ ।’ कुकुरलगायतले मानिससँगै अन्य घरपालुवा जनावरलाई टोकेर रेबिज सार्ने गर्दछन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वमा करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ । तीमध्ये ९५ प्रतिशत मृत्यु अफ्रिकी र एसियाली मुलुकमा हुने गरेका छन् । सङ्गठनले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजजन्य मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । नेपालमा मात्र हरेक वर्ष करिब एक लाख बढी मानिसलाई जनावरले टोकेको तथ्याङ्क छ भने १५ देखि ३६ जनाको मृत्यु हुने गरेको पाइएको छ । नेपालमा करिब २९ लाख कुकुर रहेको विश्व स्वास्थ्य सङ्गठनको अध्ययन छ ।

‘रेबिजको लक्षण देखिएपछि उपचार सम्भव छैन, मृत्यु निश्चित छ, त्यसैले रोकथाममै जोड दिनुपर्छ’ वरिष्ठ पशु चिकित्सक जोशीले भने ‘सङ्क्रमित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गरी जति सक्दो चाँडो ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउनुपर्छ ।’ उनका अनुसार रेबिज लागेपछि पानी पिउन मन नलाग्ने, पिउन गाह्रो हुने, पानीसँग डर लाग्ने, स्मरण शक्ति हराउने, ज्वरो आउनेलगायत लक्षण देखिने गर्छ । शरीरमा प्रवेश गरेको भाइरसको मात्राअनुसार कसैमा छिटो त कसैमा ढिलो लक्षण देखापर्ने गरेको उनको भनाई छ ।