खाेज्नुहाेस

गोदावरीमा १० वटा कार्यालय र नेताका घरमा आगलागी र तोडफोड

Image

अत्तरिया – जेन जी आन्दोलनको दोस्रो दिन मै सरकार घुँडा टेक्न बाध्य भएको छ । पहिलो दिन भएको आन्दोलनमा व्यापक दमन गरेको सरकारले दोस्रो दिन झन् ठुलो सङ्ख्यामा देशै भरी आन्दोलनकारी सडकमा आएपछि घुँडा टेक्न बाध्य भएको हो ।

आन्दोलनको राप अगाडि टिक्न नसकेका सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले दोस्रो दिनको आन्दोलन सुरु भएको केही घण्टामै राजीनामा दिएका छन् । आन्दोलनकारीले सरकारका मुख्य निकाय राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत नै कब्जामा लिएर तोडफोड र आगजनी गरेपछि ओली सरकारको बहिर्गमन भएको थियो ।

attariya hospital

जेन जीले सरकार ढल्दा पनि शान्त भने भएनन् । उनीहरूले देशै भरी मुख्य दलका नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई निशाना बनाएका छन् । मुख्य दलका नेता काँग्रेस सभापति शेर बहादुर देउवा, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्डको निवास तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

जेन जीको आक्रमणमा परेर काँग्रेस सभापति शेर बहादुर देउवा दम्पती घाइते समेत भएका छन् । यस्तै आन्दोलनकारीको निसानामा परेका मन्त्री समेत रहेका एमाले, काँग्रेसका नेता समेत घाइते भएका छन् ।

गोदावरीमा तहसनहस

मङ्गलवार बिहान साढे १० बजे देखि नै अत्तरियामा सुरु भएको जेन जीको आन्दोलन बिहान संयमित भए पनि दिउँसो देखि उग्र बनेको थियो । बिहान शान्तिपूर्वक नाराबाजी गर्दै अत्तरियाका चोक परिक्रममा गरेका जेन जी समर्थकहरूले नाराबाजी पछि भने तोडफोडमा उत्रिएका थिए । सुरुमा नगरपालिका कार्यालय निसाना बनाएका उनीहरूलाई रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेपछि सिसा तोडफोड गरेर फर्किएका उनीहरू पुन अत्तरिया क्षेत्रमा रहेका पार्टीका कार्यालय, नेता, जनप्रतिनिधिका घर जलाएर पुनः नगरपालिका पुगेका थिए ।

दोस्रो पटक नगरपालिका कार्यालय पुगेका उनीहरूले नगरपालिका ध्वस्त नै बनाए । उनीहरूले नगरपालिका कार्यालय भित्रै आगजनी गर्नुका साथै नगरपालिका परिसरमा रहेका मोटरसाइकलमा समेत आगजनी गरेका थिए । आगजनी र तोडफोड पछि नगरपालिका कार्यालय पुरै तहसनहस भएको छ ।
सयौँको सङ्ख्यामा रहेका जेन जी आन्दोलनकारीहरूले गोदावरीमा रहेको एमाले नेता लेखराज भट्टको घर जलाएर ध्वस्त पारेका छन् । उनीहरूले भट्टको घर भित्र रहेका सामान बाहिर फालेर पुरै घरमा लागो लगाएका थिए । घर आगोले दनदनी बलिरहेको भए पनि आगलागी भएको १ घण्टा सम्म दमकल समेत पुग्न नसक्दा ठुलो क्षति भएको स्थानीयले बताएका छन् ।

उनीहरूले गोदावरीका मेयर वीरेन्द्र भट्टको घरमा पनि आगजनी गरेका छन् । अत्तरिया बजारको घना बस्तीमा रहेको भट्टको घरमा भने केही बेरमै दमकल पुगेर आगो निभाएको थियो । आन्दोलनकारीले गोदावरी नगरपालिकाका पूर्व मेयर हरि सिंह साउँदको घरमा पनि तोडफोड गरेको गरेका छन् । उनीहरूले घर भित्रका सामान बाहिर फालेर घरमा तोडफोड गर्नुका साथै बाहिर निकालिएका सामानमा तोडफोड गरेका थिए ।

आन्दोलनकारीले गोदावरीको वडा नम्बर २ का वडा सदस्य देव राज भट्टको घरमा पनि तोडफोड गर्दै घरभित्र रहेका सामान बाहिर फालेर आगजनी गरेका थिए । उनीहरूले नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकायाको घरमा पनि तोडफोड गरेका छन् ।

आन्दोलनकारीले अत्तरियामा रहेका तीन ठुला पार्टीका कार्यालयमा पनि तोडफोड गर्नुका साथै कार्यालयमा रहेका फर्निचर र कागजातमा आगजनी गरेका छन् । अत्तरियाको दुर्गा मन्दिर परिसरमा रहेको नेकपा माओवादी पार्टी कार्यालय, बन खेतमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा उनीहरूले तोडफोड गर्नुका साथै कार्यालयका सम्पूर्ण सामान जलाएर नष्ट गरेका छन् । उनीहरूले माओवादी पार्टी कार्यालय र काँग्रेस पार्टी कार्यालयका सामान सडकमा ल्याएर जलाएका थिए । आन्दोलनकारीले अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा पनि तोडफोड गर्दै आगजनी गरेका छन् ।

navjiwan hospital

प्रदेश भरी तोडफोड र आगजनी

यसैबिच सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा दर्जनौँ संरचनामा आगजनी र तोडफोड भएको छ । सयौँको सङ्ख्यामा प्रदर्शनमा सहभागी जेनजीले पार्टी कार्यालय, सरकारी कार्यालय र सवारीसाधनमाथि आगजनी गरेका थिए । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नियन्त्रणमा लिएर तोडफोड सुरु गरेका उनीहरूले सरकारी कार्यालय निसाना बनाएका थिए ।

उनीहरूले प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउँदै दुई वटा गाडी समेत जलाएका छन् । धनगढीकै टेम्पल रिसोर्टमा पार्किङ गरिएका आधा दर्जन सरकारी गाडीमा पनि आगजनी गरिएको छ । प्रदर्शनकारीहरूले सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवनमा प्रवेश गरेर त्यहाँ समेत आगो लगाइदिएका छन् भने मोटरसाइकल, फर्निचर लगायतका सामान जलाएका छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ । उनीहरूले धनगढीमा रहेका नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयमा समेत आगो लगाएका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रवेश गरी तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनकारीहरूले कार्यालयतर्फ अगाडि बढेर ढुंगामुढा गर्नुका साथै कार्यालयभित्र रहेका कागजात र सामग्रीमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीका कारण कार्यालयमा रहेका महत्त्वपूर्ण कागजात र उपकरणमा क्षति पुगेको छ ।

आक्रोशित जेनजीहरुले छानाछानी सरकारी कार्यालयमा तोडफोड र आगजनी गरे पनि सुरक्षाकर्मीले भने मुख दर्शक भएर हेर्न बाध्य भएका थिए । जिल्ला प्रशासन कार्यालयले दिउँसो साढे १२ बजेदेखि कफ्र्यु आदेश जारी गरेको भए पनि त्यसको कुनै प्रभाव पर्न सकेन । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेका छन् । जेन जीको आन्दोलनका क्रममा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा आगजनी गरिएको छ ।

यसैबिच कैलाली कारागार सबै कैदी बन्दी निस्किएका छन् । आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरू निस्किएका हुन् । यो कारागारमा केही समयअघि मात्रै दुई समूहबिच झडप भएको थियो । त्यति बेला पनि कैदी बन्दीले नियन्त्रणमा लिएका थिए ।

जेनजी समूहका युवाहरूले घोडाघोडी नगरपालिकाको कार्यालय पूर्ण रूपमा तोडफोड गर्दे आगजनी गरेका छन । त्यसको साथै वडा नम्बर १, २, ३ र ४ वडा कार्यालयमा आगजनी गरेका छन । उनीहरुले नगर प्रमुख बस्ने निवास र प्रमुख प्रशासकीय अधिकृत बस्ने निवासमा तोडफोड गर्दे आगजनी गरेका छन् ।
कञ्चनपुरमा भएको जेन जीको आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको घरमा पनि तोडफोड आगजनी गरिएको छ ।

जेनजी समूहले एमाले पोलिट ब्युरो सदस्य समेत रहेका पूर्व मुख्यमन्त्री रावलको भीमदत्त नगरपालिका–६ऐठपुरमा रहेको घरमा आगजनी तोडफोड गरेका हुन् । आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए । यसैबिच गृहमन्त्री रमेश लेखकको बेतकोट ८ मा रहेको निवासमा पनि प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन् ।

डडेल्धुरामा पनि जेन जीले दिनभरि प्रदर्शन गरेका थिए । जिल्ला प्रशासन कार्यालय घेराउ गरेका त्यहाँका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले एमाले पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् । उता दार्चुलामा पनि पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ ।
बैतडीमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै युवा विद्यार्थीहरु स्वस्फूर्त रुपमा प्रदर्शनमा उत्रेका हुन् ।