खाेज्नुहाेस

आन्दोलित ‘ओलानी सरकार’

Image

अत्तरिया – सुगम पालिकामा भएर पनि दुर्गम बन्न बाध्य ओलानीका जनता मात्रै नभएर त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने स्थानीय सरकार नै आन्दोलित बनेको छ । प्रदेश सरकारले गौरवको योजनामा राखेको सडक ६ वर्षदेखि अलपत्र अवस्थामा पुगेपछि स्थानीय सँगै वडाका जनप्रतिनिधि आन्दोलित भएका हुन । बिहीबार जनप्रतिनिधिले सडकमै वडा कार्यालय सञ्चालन गरेर नाराबाजी मात्रै गरेर सडक अलपत्र पार्ने ठेकेदार र बेवास्ता गर्ने प्रदेश सरकार प्रति आक्रोश पोखे ।

वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले सडक अलपत्र पार्ने ठेकेदारसँगै प्रदेश सरकारले गम्भीर लापरबाही गरेको बताए । उनले ६ वर्ष सम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने प्रदेश सरकारको काम नै नभएको बताए । उनले ठेकेदारले सहमति अनुसार काम नगर्दा पनि सम्बन्धित कार्यालयका मन्त्रीले पनि किन कारबाही गर्न नसकेको भनेर प्रदेश सरकार समक्ष प्रश्न गरे । ‘हामी निर्वाचित भएर काम गर्न आएका हौ । तर, अहिले सडकमा बस्नु परेको छ’ उनले भने ‘सडकको बेहाल हुँदा अहिले यहाँका अटो व्यवसायी ६ महिनामै विस्थापित हुने अवस्था छ । यहाँ उत्पादन भएको तरकारी बजार पुगाउन पनि उस्तै समस्या छ । बिरामी अस्पताल लग्न पनि उस्तै समस्या छ ।’ उनले काम नगर्ने ठेकेदार र प्रदेश सरकार भए पनि गाली आफूहरूले खानु परिरहेको बताए ।

attariya hospital

वडा नम्बर ३ का वडाध्यक्ष तेज राज अवस्थीले दुई निर्माण कम्पनीका कारण ४ वडाका जनताले दुःख खेप्नुपरिरहेको बताए । उनले दबाव दिन सडकमा उत्रिएको बताउँदै मान सुनुवाइ नभए अत्तरिया चोक ठप्प पार्ने चेतावनी दिए । उनले भने ‘२ दिन सडकमा वडा कार्यालय सञ्चालन गरेर दबाव दिन्छौ । यती गर्दा पनि ठेकेदारले काम सुरु नगरे आइतबार अत्तरिया चोकका चारै सडकमा टेबल राखेर काम गर्न बाध्य हुन्छौ ।’

वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले ठेकेदारले पटक पटक ठग्दै ६ वर्ष सम्म सडक अलपत्र पार्दा जनताले निकै दुःख पाएको बताए । उनले सडक निर्माणका लागि सम्बन्धित सबै कार्यालय सँग समन्वय गरेर निर्माणका लागि आग्रह गर्दा पनि ठेकेदारले अटेरी गरेको बताए । उनले चौकिडाँडा फल्टुडे सडक निर्माण भएमा ओलानी क्षेत्रको विकासले फड्को मार्ने बताए । उनले ठेकेदारलाई काम गराउनका लागि प्रशासनले कडा कदम चाल्न आवश्यक रहेको बताए । उनले पटक पटक म्याद थपेर सरकारले ठेकेदारलाई प्राथमिकतामा राखेको आभास हुने गरेको बताए ।

वडा नम्बर ११ का वडाध्यक्ष प्रेम सिंह बडैलाले आफूहरू जनप्रतिनिधि भएर पनि आफ्नो कुरा नसुनिएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको बताए । उनले ठेकेदारले नै नेताहरूलाई चलाएकाले ठेकेदारले संरक्षण पाइरहेको बताए । उनले भने ‘यी ठेकेदार माथिका नेताहरूको खास मान्छे हुन्छन् । जसले गर्दा काम नगर्ने ठेकेदारले संरक्षण पाइरहेका छन् ।’

बिहीबार चार वडाका वडाध्यक्षहरूले सडकमै वडा कार्यालय सञ्चालन गरेर सुरु गरेको दबाब मूलक कार्यक्रममा ऐक्यबद्धता जनाउन नगरप्रमुख वीरेन्द्र भट्ट र प्रदेश सांसद तुलसी देवकोटा पनि पुगेकी थिइन् ।

navjiwan hospital

नगरप्रमुख भट्टले ठेकेदारको चरम लापरबाहीको कारण जनप्रतिनिधि सडकमा आउन बाध्य भएको बताए । उनले चौकिडाँडा फल्टुडे सडकलाई भीमदत्त राजमार्गको वैकल्पिक राजमार्ग बनाउने योजना अघि सारिएको भए पनि हाल २ ठेकेदारको लापरबाहीले काम रोकिएको बताए । उनले पटक पटक सिडिओ कार्यालयमा पुगेर ताकेता गर्दा पनि काम नगरिरहेको बताए ।

प्रदेश सांसद तुलसी देवकोटाले प्रदेश सरकारले बजेट हाले पनि ठेकेदार जिम्मेवार नहुँदा काम हुन नसकेको बताइन् । उनले सर्पको जोखिम रहेको ओलानीका जनताले बाटो नबन्दा समस्या भोगेको बताउँदै प्रदेश सरकारले ठेकेदारलाई सम्पर्कमा ल्याएर काम गराउनु पर्ने बताइन । उनले आफू स्थानीय जनप्रतिनिधि भएकाले वडाध्यक्ष लगायत स्थानीयको माग सुनुवाइका लागि सम्बन्धित निकायमा पहल गर्ने बताइन ।

स्थानीय पनि आक्रोशित

स्थानीय रमेश ताम्राकारले काम नगर्ने ठेकेदारको पटक पटक म्याद थपिँदै जाने हो भने अब जनता चुप लागेर नबस्ने बताए । उनले आजै देखि ठेकेदारले काम नगरे आफूहरू जस्तोसुकै कदम लिन तयार भएको बताए । स्थानीय दीपक राज भट्टले बर्सेनि सडक कालोपत्रे हुन्छ भन्दा भन्दै दशक बित्न लागेको बताए । उनले पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफूहरू पनि जनप्रतिनिधिलाई विरोध कार्यक्रममा साथ दिन सडकमा आएको बताए ।

स्थानीय गणेश बहादुर खड्काले लामो समय देखि चौकिडाँडा फल्टुडे सडक बजेट आउँदा पनि ठेकेदारका कारण अलपत्र परेको बताए । उनले २ ठेकेदारका कारण पुरै ओलानीले दुःख पाइरहेको बताए । उनले आफूहरूले वडाअध्यक्षहरुले सुरु गरेको दबाब मूलक कार्यक्रममा साथ दिइरहेको बताए ।

साढे ५ किलोमिटर सडक अलपत्र

चौकिडाँडा देखि फल्टुडे जोड्ने सडक भए पनि ओलानीका जनताको लाइफलाइनका रूपमा रहेको यो सडक निर्माणको काम आर्थिक वर्ष २०७६/०७७ देखि नै सुरु भएको थियो । उक्त सडकको जिरो पोइन्ट देखि सेतो पुल सम्म २२ सय मिटर सडक एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीबाट सम्पन्न भए पनि दोस्रो खण्ड सेतो पुल देखि वडा नम्बर १० को कार्यालय सम्मको अढाई किलोमिटर र तेस्रो खण्ड वडा कार्यालय देखि बाङ्गेसाल सम्मको ३ किलोमिटर सडक विगत ६ वर्ष देखि अलपत्र छ ।

दोस्रो खण्डको सडक निर्माणका लागि २०७७ भदौ १८ गते एड्भेन्चर, थिगिम, सन्लाईट जेभि तेस्रो खण्ड निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग सम्झौता गरिएको थियो । ओलानी जोड्ने मुख्य सडक मध्ये साढे ५ किलोमिटर सडक दुई ठेकेदारले अलपत्र पार्दा त्यस क्षेत्रका जनताले सास्ती खेप्दै आएका छन् ।