धनगढी – कैलालीको धनगढीबाट साढे ७ ग्राम लागू औषध खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन् । सोमबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ को ब्यारेल नजिक र १४ को खुटिया टोलबाट लागू औषध खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको हो ।


धनगढी उपमहानगरपालिका–२ को ब्यारेल नजिकै सुदूरपश्चिम प्रदेश ०१००८ प २७३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा धनगढी–७ बस्ने १९ वर्षीय जीवन मन्ने र २७ वर्षीय आदित्य खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूको साथबाट ४ ग्राम ३८० मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका–१४ को खुटिया टोलबाट प्र.३–०२–००७ प ५५२० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा धनगढी–१४ बस्ने २५ वर्षीय सुभम राना र सेवा राना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट तीन ग्राम ६० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ । दुवै ठाउँबाट ७ ग्राम ४४० मिलिग्राम लागू औषध खैरो हेरोइन र दुई मोटरसाइकल सहित चारै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

















