अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ५८ किसान तथा किसान समूहलाई मिनिटेलर वितरण गरिएको छ । बिहीबार गोदावरी नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरेर ५८ किसान तथा किसान समूहलाई मिनिटेलर वितरण गरेको हो ।
किसानहरूलाई ५० प्रतिशत अनुदानका मिनिटेलर वितरण गरिएको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले बताए । उनले मिनिटेलर पाएका किसानहरूलाई त्यसको सही सदुपयोग गर्न आग्रह गरे । ‘यसअघि वितरण गरेका मिनिटेलर विक्री गरेको पनि पाइयो’ उनले भने ‘तपाइहरूको आर्थिक पाटो बलियो होस भनेर हामीले यो कार्यक्रम ल्याएका हौ । यसलाई सही सदुपयोग गर्नुहोला ।’

उनले मिनिटेलरको सही सदुपयोग भए नभएको नगरपालिकाको टोलीद्वारा अनुगमन गरिने बताए । उनले अनुदानमा मिनिटेलर लिनका लागि ११५ किसानले आवेदन दिए पनि विधि प्रक्रिया पुगाएर ५८ किसानलाई छनोट गरिएको बताए ।
उपप्रमुख शारदा देवी रोकायाले मिनिटेलर लिएका किसानले ५ वर्ष सम्म विक्री वितरण गर्न नपाइने बताइन् । उनले किसानको सहजताका लागि मिनिटेलर वितरण गरिएकाले यसको सदुपयोग गरिए नगरिएको अनुगमन गरिने बताइन् ।

नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले अघिल्लो आर्थिक वर्षको कार्यक्रम भए पनि प्रक्रिया पुगाउन ढिलाइ हुँदा चालु आर्थिक वर्षमा वितरण गरिएको बताए । उनले मिनिटेलर पाएर किसानले अरूको बारीमा खनजोत गरेर अतिरिक्त आम्दानी पनि गर्न सक्ने बताए ।

कृषि शाखा प्रमुख नन्दी मल्लले किसानहरूलाई ७ हर्ष पावरको मिनिटेलर वितरण गरिएको बताइन् । जसमध्ये किसानले ५० प्रतिशत अर्थात् २३ हजार ७५ रुपैयाँ तिरेको बताइन् । मिनिटेलर वितरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा २३ लाख विनियोजन गरेको थियो ।
किसान दङ्ग
५० प्रतिशत अर्थात् २३ हजार ७५ रुपैयाँ मै अनुदानको मिनिटेलर पाएपछि किसान दङ्ग भएका छन् । गोदावरी नगरपालिका – १० खमौराका गणेश राज भट्टले मिनिटेलर पाएपछि सहज हुने बताए । उनले खेत बनाउन निकै समस्या पर्ने गरेकोमा मिनिटेलर पाएपछि सहज हुने बताए । उनले मिनिटेलर पाएपछि तरकारी खेती गर्ने बताए । मिनिटेलर हुनैनाथ कृषक समूह मार्फत प्रयोग गरिने उनले बताए ।
अर्को किसान मान बहादुर रावलले मिनिटेलर तरकारी खेतीका लागि निकै प्रभावकारी हुने बताए । उनले यसले आयआर्जन बढाउन सहयोग पुग्ने बताए । गोदावरी नगरपालिका – ११ का किसान पदम राज गिरीले मिनिटेलर पाएर खुसी लागेको बताए । उनले किसानलाई सहजताका साथै खेती गर्दा लागत कम हुने बताए ।
ग्वासी महिला कृषि समूहकी सदस्य मिना खत्रीले मिनिटेलर महिलाहरूले पनि चलाउन सक्ने भएकाले सहज हुने बताइन । उनले मिनिटेलर चलाउन सिकेर आफै खेती गर्ने योजना रहेको बताइन् । सोही समूहमा आबद्ध डम्बरी देवी विष्टले मिनिटेलर पाउँदा खुसी लागेको बताइन । उनले पछिल्लो समय महिलाहरूले पनि खेत जोत्ने काम गर्न थालेकाले आफूले पनि मिनिटेलर चलाउन सिक्ने बताइन ।
भिडियो



















