अत्तरिया– कैलालीको धनगढीमा एक दिने कर्जा तथा पशुधन सुरक्षण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम आयोजना गरिएको छ । निक्षेप तथा सुरक्षण कोषले धनगढीस्थित पौवा होटलमा बुधबार सो कार्यक्रम सञ्चालन गरेको हो ।
कोषको केन्द्रीय कार्यालयका कर्जा सुरक्षण विभागका विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलियाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश स्वरोजगार विकास कोषका उप कार्यकारी निर्देशक पविन्द्र शाही रहेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले सुदुरपश्चिम प्रदेशका युवा उद्यमीलाई विभिन्न ९९ वटा सहकारी मार्फत लगानी गरी उद्धमशीलतामा प्रेरित गरिदै आएको बताए । उनले प्रदेश सरकारले प्रदेशभित्रका स्वरोजगारमा संलग्न हुन ईच्छुक युवालाई रोजगारी सृजना गर्न तथा आय आर्जन बृद्धि गर्ने योजना बनाईरहेको बताए । सो योजनालाई साकार पार्न निक्षेप तथा कर्जा सुरक्षण कोष, सुदुरपश्चिम प्रदेश स्वरोजगार विकास कोष र बैक तथा वित्तीय संस्थाहरुको सहकार्य र समन्वय आवश्यक रहेको समेत उनले बताए ।
यस्तै कार्यक्रमकी सभापति थपलियाले पशुपालन क्षेत्रको जोखिमलाई कम गर्न र सदस्य संस्थालाई तरलता व्यवस्थापन गर्न कोष सदैव तत्पर रहेको बताईन । उनले सुदुरपश्चिम प्रदेशमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुशपालन क्षेत्रमा कर्जा लगानी वृद्धि गर्न र पशुपालक ऋणीले खरिद गरेको पशुधनको कोषमा सुरक्षण गराउन आग्रह समेत गरिन ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका वित्तीय संस्थाका प्रदेश प्रमुख, बैक तथा वित्तीय संस्थाका शाखा प्रमुख तथा विभिन्न बैंक तथा वित्तीय संस्था र कोषका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख प्रबन्धक थपलियाले कर्जा सुरक्षण सम्बन्धमा र सुुदुरपश्चिम प्रदेश धनगढीका शाखा प्रमुख रामचन्द्र पराजुलीले पशुधन सुरक्षण सम्वन्धी प्रस्तुतीकरण दिएका थिए । कार्यक्रमको सञ्चालन कोषका धनगढी शाखा प्रमुख रामचन्द्र पराजुलीले गरेका थिए ।


















