धनगढी – भारतको लखिमपुर खिरीमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा समन्वय बैठक सम्पन्न भएकाे छ । भारततर्फकाे खक्रौला क्याम्पमा शुक्रबार भारत र नेपालबीच नियमित मासिक सीमा समन्वय बैठक सम्पन्न भएको कैलाली प्रहरीले जनाएको छ।

बैठकमा दुवै देशका सुरक्षा निकायबीच सीमा सुरक्षालाई प्रभावकारी बनाउने विषयमा सहमति भएको छ ।

बैठकमा सीमामा हुने लागूऔषध तस्करी नियन्त्रण, आपराधिक गतिविधिको सूचनाको आदानप्रदान, मानव बेचबिखन रोकथाम, सीमा स्तम्भको अनुगमन तथा नक्कली नोट कारोबार नियन्त्रण लगायतका विषयमा दुई पक्षबीच छलफल भएको थियो।
बैठकमा नेपाली पक्षबाट जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढीका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जित, इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकी लगायतका १० जनाको टोली सहभागी भएको थियो ।


















