अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा योग ध्यान कार्यक्रमको शुभारम्भ गरिएको छ । बिहीबार पतञ्जलि योग समितिका कैलाली जिल्ला अध्यक्ष तथा योग गुरु सुवास बमको प्रमुख आथित्यतामा आयोजित एक कार्यक्रमका बिच योग ध्यान कार्यक्रमको शुभारम्भ गरिएको हो ।

योग ध्यान कार्यक्रम प्रत्येक बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ । शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विद्यालयका कर्मचारीहरूको सहभागिता रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताए ।

उनले विद्यालयमा शैक्षिक दबाब, थकान तथा विद्यार्थी र शिक्षकहरूमा देखिने मानसिक अस्थिरतालाई ध्यानमा राख्दै नियमित योग तथा ध्यान कार्यक्रमको थालनी गरिएको बताए ।
यस्तो खालको अभ्यासले एकाग्रता बढाउनुका साथै सकारात्मक सोच विकास गर्न मद्दत पु-याउने विश्वास गरिएको छ ।
















