खाेज्नुहाेस

बिनाले व्यक्तिगत कारोबार गरेको रकमको सहकारीले जिम्मा लिँदैन : अपि सैपाल सहकारी

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नी पूर्व कर्मचारी बिना चौधरी (योगी) ले गरेको व्यक्तिगत कारोबारको जिम्मा सहकारीले नलिने जनाएको छ । सहकारीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारीको कर्मचारी हो भन्दैमा उसले व्यक्तिगत रूपमा गरेका कामको संस्थाले जिम्मेवारी नलिने जनाएको हो ।

‘कुनै पनि संस्थाको कर्मचारीले बाहिर के के कुरा गर्छ भन्ने कुराको जिम्मेवारी संस्थाले लिनुपर्ने हो र’ संस्थाका अध्यक्ष ललित रोकायाले भने ‘बाहिर पर्सनल लाइफमा के कुरा गर्छ भन्ने हाम्रो सरोकार छैन । कसैले उसलाई मिटर व्याजमा पैसा दिएको सुन्नमा आएको छ । संस्थागत रूपमा बाहिर भनिएको जस्तो केही पनि गरेको छैन ।’

attariya hospital

उनले सहकारीमा बिनाले करिब ८ लाख रुपैयाँ तिर्न बाँकी रहेको देखिएको बताए । ‘सहकारीका नाममा सदस्यबाट बचत उठाएर पास बुकमा ईन्ट्रि गरेको तर संस्थामा नदेखाएको करिब ४ लाख जति रकम छ’ रोकायाले भने ‘त्यसबाहेक संस्थाबाट उनले करिब ४ लाख जति ऋण लिएकी छन्, यसरी हेर्दा कुल ८ लाख जति संस्थालाई बिनाले तिर्न बाँकी देखिएको छ ।’ उनले सदस्यहरूबाट संस्थाको नाममा बिनाले पास बुकमा ईन्ट्रि गराएको रकम सहकारीले तिर्ने बताए । ‘सहकारीको पास बुकमा ईन्ट्रि भएको तर अफिसमा नदेखाइएको पैसा पनि सहकारीले तिर्छ, हामी सदस्यहरूको त्यस्तो पैसाको जिम्मेवारी लिन्छौ’ अध्यक्ष रोकायाले भने ।

navjiwan hospital

उनले बिना योगीले उठाएको र पास बुकमा राखिएको रकम सुरक्षित रहेको समेत बताए । उनले संस्थालाई बिनाले तिर्न बाँकी रहेको रकम कानुनी प्रक्रियामा गएर असुल उपर गरिने बताए । उनले संस्थालाई सदस्यले दिएको रकम सुरक्षित होस भन्ने कुरामा सञ्चालक समिति जबाफदेही भएको बताए । ‘सहकारी भित्रको कुराको जिम्मेवारी सहकारीको हो, हामीले सहकारीको पास बुक ल्याएर सदस्यहरू आए त्यो बमोजिमको रकम सदस्यहरूलाई दिन्छौ’ उनले भने ‘तर बाहिर मिटर ब्याजका कुरा छन्, अन्य कुरा छन्, त्यसको हामीलाई सरोकार हुँदैन । त्यसको कारणले सहकारीलाई मुछ्ने काम पनि गरिनुहुँदैन ।’

संस्थाका उपाध्यक्ष बालकृष्ण प्रसाईँले संस्थामा जम्मा भएको रकममा गडबडी भए त्यसको जिम्मेवारी सञ्चालक समिति लिन तयार भएको बताए । उनले कसैसँग मिटर ब्याजका हिसाबले ब्याज खाने ढङ्गले लिएको रकमको जबाफदेही संस्था नहुने बताए । उनले संस्था धराशायी भएको र सञ्चालक समितिले पैसा हिनामिना गरेको भन्ने कुरा सत्य नभएको बताए । उनले अपि सैपाल सँग जम्मा हुन आएको रकम दुरुपयोग नभएको र उक्त पैसा सहकारी तिर्न तयार रहेको बताए ।

संस्थाले बिनालाई यही असार १५ गते निलम्बन गरेको जनाएको छ । संस्थाका २÷३ जना सदस्यहरूको रकम जम्मा नगरेरै खाएको देखिएकाले संस्थाले बिनालाई निलम्बन गरेको समितिले पत्रकार सम्मेलनमा जनाएको छ ।

१ महिना अघि देखि फरार रहेकी बिनाले अत्तरिया बजार क्षेत्रका केही व्यक्तिबाट करोडौं रकम लिएर फरार रहेको आरोप लागेको छ । तर, उनले ठूलो रकम उठाएर फरार रहेको भनिएपनि प्रहरीमा भने अहिले सम्म उजुरी परेको छैन ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले केही व्यक्तिले बिना योगीले पैसा खाएर फरार भएको सूचना दिएपनि उजुरी नआएको बताए ।