अत्तरिया – कैलालीको गोदावरी नगरपालिका विरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै गोदावरी – १० मा रहेको शंकर आधारभूत विद्यालयका अभिभावकले सो कुरा बताएका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव भट्टले सर्वोच्चले विद्यालय मर्जको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदा पनि नगरपालिकाले नटेरेपछि अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरिएको बताए ।
गोदावरी नगरपालिकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा मर्ज गर्न निर्णय गरिएको थियो । त्यसपछि विद्यालय मर्ज रोक्न माग गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राम दत्त भण्डारीले असार २८ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सर्वोच्चले असार ३१ गते अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको आदेशमा नगरको उक्त निर्णयमा शिक्षा ऐन २०२८ को दफा १५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) (ज), गोदावरी नगरपालिकाको शिक्षक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ को दफा ८ समेतको प्रक्रिया र कार्यविधिमा त्रुटि रहेको ठहर गरिएको थियो ।
अदालतले रिट निवेदनको टुङ्गो नलाग्दा सम्म नगरपालिका र शिक्षा समितिको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको थियो ।

तर, नगरपालिकाले भने सर्वोच्चको आदेशकै अपव्याख्या गरेर अन्तरिम आदेश कार्यान्वयन गर्न आलटाल गरेको विद्यालयका पूर्व अध्यक्ष शिवराज भट्टले बताए । उनले प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय कार्यान्वयका लागि पत्र दिँदा प्रमुख प्रशासकीय अधिकृतले पत्रमा तोक लगाएर शिक्षा शाखालाई नगर शिक्षा समितिमा छलफल र निर्णय कार्यान्वयनका लागि पेस गर्न भन्दा पनि निर्णय कार्यान्वयन प्रक्रियामा नगएको बताए ।
उनले अन्तरिम आदेशमा फागुन ३० र जेठ ३२ को निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्दा पनि नगरपालिकाले त्यसको अपव्याख्या गरिरहेको बताए । उनले आदेशको अपव्याख्या गर्ने शिक्षा शाखा प्रमुख र नगर शिक्षा समितिका विरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने बताए ।
विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष राम दत्त भण्डारीले शंकर आधारभूत विद्यालयलाई राजनीतिक पूर्वाग्रह राखेर मर्ज (समायोजन) गरिएको बताए । उनले विद्यार्थी सङ्ख्या ९६ पुग्दा पनि विद्यालय मर्ज गर्नु पूर्व नै विद्यालयमा वडा कार्यालय बनाउने निर्णय गरिएको बताए । उनले विद्यालय मर्ज हुनु अगावै वडा कार्यालय बनाउने निर्णय हुँदा विद्यार्थी हतोत्साहित भएर अन्य ठाउँ जाने वातावरण तयार गरिएको बताए ।
वडा नम्बर १० का पूर्व वडा सदस्य भुवन भट्टले सर्वोच्चले स्पष्ट फैसला दिँदा पनि उक्त निर्णय कार्यान्वयन नगर्ने अवस्था देखिएपछि अवहेलना मुद्दा हाल्नुपर्ने अवस्था आएको बताए ।
सम्बन्धीत समाचार : विद्यालय मर्जको निर्णय कार्यान्वयन नगर्न गोदावरीलाई सर्वोच्चको अन्तरिम आदेश

















