अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले गरेको विद्यालय मर्जको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गोदावरी नगरपालिका – १० मा रहेको शंकर आधारभूत विद्यालयलाई मर्ज गर्न नगरपालिकाले गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चका न्यायाधिस विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
गोदावरी नगरपालिकाकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्न निर्णय गरिएको थियो । नगरपालिकाले मर्ज गरिएको शंकर आधारभूत विद्यालयमा वडा नम्बर १० को कार्यालय बनाउने तयारी गरेको थियो ।

सर्वोच्च अदालतले नगरको उक्त निर्णयमा शिक्षा ऐन २०२८ को दफा १५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८ समेतको प्रक्रिया र कार्यविधिको त्रुटि रहेको भन्दै निवेदनको टुङ्गो लाग्दा सम्म नगरपालिका र नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । विद्यालय मर्ज रोक्न माग गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राम दत्त भण्डारीले असार २८ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सर्वोच्चले असार ३१ गते अन्तरिम आदेश दिएको थियो ।
विद्यालय सञ्चालन गर्न माग

सर्वोच्चको अन्तरिम आदेशपछि स्थानीयले शंकर आधारभूत विद्यालयका तत्काल सञ्चालन गर्न माग गरेका छन् । शनिवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव भट्टको अध्यक्षतामा बसेको आम भेलाले सर्वोच्चको आदेश अनुसार विद्यालय यथावत रूपमा सञ्चालनमा ल्याउन माग गरिएको हो ।
भेलामा समायोजनका सम्बन्धमा नगरपालिकाले गरेका सबै निर्णय यथास्थितिमा राख्ने भन्ने अन्तरिम आदेश जारी भइसकेकोले अन्तरिम आदेशको जानकारी र तत्काल कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । भेलाले विद्यालयमा खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणका लागि पनि गोदावरी नगरपालिका वडा नम्बर १० को कार्यालय, नगरपालिका र अन्य सम्बन्धित निकाय सँग माग गर्ने निर्णय गरेको छ ।
उच्च अदालतमा पनि रिट दायर
नगरपालिकाले मर्ज गरेको गोदावरी नगरपालिका – १२ को शिव प्राविका अभिभावकले पनि उच्च अदालत दिपायलमा रिट दायर गरेका छन् । विद्यालयका संस्थापक मध्येका एक खेम बहादुर साउँदले हाल उच्च अदालतले नगरपालिकाको नाममा कारण देखाऊ आदेश जारी गरेको बताए ।
उनले असार १० दुवै पक्षलाई बहसका लागि बोलाएको बताए । उनले नगरपालिकाले वडा कार्यालय बनाउन कै लागि प्रक्रिया नै नपु-याई विद्यालय मर्ज गरिएको बताए । ‘शिव प्राविमा विद्यालय मर्ज गर्नुको उद्देश्य नै त्यहाँ वडा कार्यालय बनाउनको लागि हो’ उनले भने ‘जसका लागि नगरपालिकाले कुनै मापदण्ड नै नपु-याएर हतारमा विद्यालय मर्ज गरेको छ ।’
नगरपालिकाले चालु शैक्षिक सत्रमा ७५ भन्दा कम विद्यार्थीको सङ्ख्या भएका विद्यालय मर्ज गर्ने नीति लिएको थियो । जसअनुसार २९ वटा सामुदायिक विद्यालय रहेको गोदावरीमा चालु शैक्षिक सत्रमा ४ वटा विद्यालय मर्ज गरिएका छन् । जसमध्ये वडा नम्बर ६, ९, १० र १२ का एक एक विद्यालय रहेका छन् । सो क्रममा नगरले एक विद्यालयलाई निमाविबाट प्राविमा तह समायोजन गरेको छ ।

















