काठमाडौं – इजरायली सेनाले मध्य गाजाको नुसरत शरणार्थी शिविरमा गरेको कारबाहीका क्रममा हमासद्वारा बन्धक बनाइएका चार जनालाई सकुशल उद्धार गरेको छ ।

इजरायली सेना, गुप्तचर संयन्त्र र विशेष सैन्य बलले नुसरत शिविरका दुई भिन्दाभिन्दै स्थानबाट उनीहरुलाई उद्धार गरिएको इजरायली सुरक्षा बल आईडीएफ ले जनाएको हो । उद्धार गरिएकाहरुमा २५ वर्षीया नोआ आर्गामानी, २१ वर्षीय अल्मोग मिर जान, २७ वर्षीय एन्ड्री र ४० वर्षीय सिओमी जिभ छन् । उनीहरुलाई हमासका लडाकुले गत ७ अक्टोबरमा दक्षिणी इजरायलको नोभा सांगीतिक उत्सव समारोहबाट अपहरण गरेका थिए । उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था राम्रो रहेको र थप परीक्षणका लागि स्वास्थ्य केन्द्र पठाइएको आईडीएफले जनाएको छ ।

इजरायली सेनाले गाजामा आक्रमण गरी बन्धकलाई उद्धार गरेको यो तेस्रोपटक हो । यसअघि गत अक्टोबरमा एक र फेब्रुअरीमा दुई जनालाई मुक्त गराइएको थियो ।
हमासले इजरायलमा गरेको आक्रमणका क्रममा २५१ जना अपहरणमा परेका थिए । जसमध्ये गत नोभेम्बरमा भएको अस्थायी संघर्षविरामका क्रममा एक सय पाँच जनालाई हमासले मुक्त गरेको थियो भने हमासको नियन्त्रणमा अझै ११६ जना रहेको बताइएको छ । तीमध्ये ४१ जना इजरायली सेना हुन् । हमासले अपहरण गरेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।

















