धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सङ्घीय सरकारको बजेट प्रस्तुत भएपछि प्रदेश सरकारले पूर्णता पाउने बताएका छन । उनले नेकपा एमाले र नेकपा माओवादीका शिर्ष नेताहरुसँग छलफल गर्ने समय नमिलेकाले सरकारलाई पुर्णता दिन केही ढिलाई भएको बताए ।

‘सरकारले पूर्णता पाउने विषयमा नेकपा एमाले र नेकपा माओवादी का शीर्ष नेतासँग छलफल गर्ने समय नमिलेकाले केही ढिलाइ भएको हो’ उनले भने ‘सङ्घीय बजेट भाषणपछि प्रदेश सरकारले पनि पूर्णता पाउँछ ।’ समर्थन गर्ने दलबाट मन्त्रीको नाम आउने वित्तिकै प्रदेश सरकारले पुर्णता पाउने बताउदै उनले सबैलाई समेट्ने गरी मन्त्रालय थप्ने विषयमा कुनै छलफल नभएको बताए ।

सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीले दुई÷दुई र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले एक मन्त्रालय लिने चर्चा रहेको छ । सोही चर्चा अनुसार मन्त्रीपरिषद् बनाउन आठ वटा मन्त्रालय आवश्यक पर्ने हुन्छ ।

जबकि अहिले मुख्यमन्त्रीसहित सात मन्त्रालय मात्र कायम रहेका छन । वर्तमान सरकार मुख्यमन्त्रीसहित तीन सदस्यीय मात्र रहेको छ । सरकारमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता मुख्यमन्त्री सोडारी र नागरिक उन्मुक्तिका दुई जना मन्त्री छन् ।
