धनगढी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बजेटमा छोरी आत्मनिर्भरता कार्यक्रम लागू हुने बताएकी छिन । धनगढी विमानस्थलमा प्रेस चौतारी कैलालीले आयोजना गरेको कार्यक्रममा उनले बजेट तयारी हुँदै गरेको भन्दै बजेटमा छोरी आत्मनिर्भर बनाउने कार्यक्रम समाबेस गर्न लागिएको बताइन ।
उनले बजेटमा धेरै नयाँ विषय समेटिएकोले उत्कृष्ट बजेट आउने बताइन । ‘अहिले बजेटको तयारी भइरहेको छ । धेरै नयाँ विषयमा समेटिएर बजेट बन्ने छ ’ उनले भनिन्, ‘सीमित बजेट सिलिङकाबीचमा हाम्रो मन्त्रालयबाट पनि धेरै नयाँ विषय समेटिने छ ।’
उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि सरकारले ध्यान दिएको बताइन् । उनले सडक बालबालिकाको व्यवस्थापनका लागि पनि सरकार गम्भीर रहेको बताइन । बाल सुधार गृहमा भइरहेको विभिन्न घटनाहरू रोक्न र बाल सुधार गृहलाई अझै सुधार गर्ने विषयमा पनि सरकार लागेको मन्त्री चौधरीले जानकारी दिइन् ।
कञ्चनपुरको कार्यक्रममा सहभागी हुन आएकी मन्त्री चौधरी आज कञ्चनपुर र कैलालीका विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।