धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिइसक्दा पनि सरकार विस्तार भने हुन सकेको छैन । सरकार विस्तारमा अहिले सम्म ठोस छलफल समेत हुन सकेको छैन ।
एमालले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिएर तत्काल सरकार बाहिरै बस्ने निर्णय गरेपछि सुरुमै सरकार विस्तार गर्ने मुख्यमन्त्रीको प्रयास असफल भएको थियो । एमालले प्रदेश सरकारको सहभागिताका सम्बन्धमा पार्टी केन्द्रीय निर्देशन प्राप्त नभएको बताउँदै आएका छ । । एमाले संसदीय दलका नेता राजेन्द्र रावलले सरकार विस्तारका बिषयमा केन्द्रबाट कुनै निर्देशन प्राप्त नभएको बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका उपनेता अक्कलबहादुर रावलले पनि शीर्ष तहबाट खाका प्राप्त भएपछि सरकार विस्तार हुने बताए । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि शीर्ष तहमा छलफल भएर निर्देशन प्राप्त भएपछि मात्र अघि बढ्ने उनले बताए ।

मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षलाई सरकारमा सहभागी गराएका छन । सोडारीलाई समर्थन गरेका नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्री र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् ।
आर्थिक मामिला, सामाजिक विकास, आन्तरिक मामिला र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय भने सोडारीले आफैँसँग राखेका छन् ।
सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच एमाले र माओवादी केन्द्रलाई २–२ मन्त्रालय दिने विषयमा छलफल भइरहेको छ भने मुख्यमन्त्रीलाई समर्थन गरेका स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोशीलाई समेत मन्त्री बनाउने तयारी छ ।
त्यसका लागि एउटा मन्त्रालय फुटाउने समझदारी दलहरुबीच भइसकेको छ । नेताहरुकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय बनाइनेछ ।
















