धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारी सँग सत्ता साझेदार दल रुष्ट भएका छन । नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ती पार्टीको सहयोगमा मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता दीर्घबहादुर सोडारीले सत्ता साझेदार दलमा छलफल नै नगरी विश्वासको मत लिने तयारी गरेपछि सत्ता साझेदार दलहरु रुष्ट भएका हुन ।

मुख्यमन्त्री सोडारीले वैशाख २१ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए । सोहीअनुसार प्रदेशसभा सचिवालयले शुक्रबार बेलुका ५ बजे सोही प्रयोजनका लागि प्रदेशसभा बैठक बस्ने सूचना समेत जारी गरिसकेको छ ।

तर मुख्यमन्त्री सोडारीले सत्ता साझेदार दलहरूबिच ठोस छलफल र सहमति नै नगरी विश्वासको मत लिने तयारी गरेपछि एमाले र माओवादी केन्द्र असन्तुष्ट बनेका छन् । एमाले नेताहरूका अनुसार शुक्रबारको प्रदेशसभा बैठक स्थगित गर्ने तयारी भएको छ ।
