अत्तरिया – पर्यटकीय क्षेत्रका हिसावले गोदावरी नगरपालिकाकै सबैभन्दा महत्वपूर्ण स्थानका रुपमा नायल ताललाई लिन सकिन्छ । नगरको वडा नम्बर १२ मा रहेको नायल तालको आफ्नै इतिहास र विशेषताले यसलाई अन्य पर्यटकीय क्षेत्रका तुलनामा फरक र विशेष बनाउँछ ।
धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको नायल ताल विचित्र र ऐतिहासिक भएपनि यसको संरक्षण र संवद्र्धन भने अझै हुन सकेको छैन । विकट क्षेत्रमा रहेको उक्त तालसम्म पुग्न अत्तरिया बजारदेखि सवारी साधनमा करिब ३ घण्टा लाग्ने गर्दछ । पर्यटकीय हिसावले मनमोहक र विशेष भएपनि पूर्वाधार विकास हुन नसक्दा नायल तालको प्रचार प्रसार हुन सकेको छैन ।

प्राचिन कालमा गणपति राजा र देवताबीचको लडाइको पुरातत्वका रूपमा नायल ताललाई लिने गरिएको छ । राजा र देवताको लडाई मात्रै नभई बटुवाका लागि खिर पाकेको भाँडा आउने सम्मको इतिहास नायलको छ । नायलको बारेमा विस्तृत रुपमा उक्त क्षेत्रका ज्येष्ठ नागरिकहरुले बताउने गरेका छन् ।

नायलको अवस्था दिनानुदिन नाजुक बन्दै जाँदा पनि सरोकारवाला निकायको नजरमा भने पर्न सकेको छैन । नायल क्षेत्रमा विकासका पूर्वाधार पुग्नसके यसलाई पर्यटकीय हब बनाउन सकिने कुरामा दुईम त छैन । तर, देशमा संघियता आएर तीन तहका सरकार आएको ८ वर्ष बित्नै लाग्दा पनि नगरलाई चिनाउन सक्ने नायलको विकासमा कसैले ध्यान दिन सकेको छैन । त्यहाँका नागरिकहरुले विकासको अनुभुति अझै गर्न पाएका छैनन् । उक्त वडामा रहेका नायल, चाप, सल्ली, सीम लगायतका क्षेत्रहरु अझै पनि विकट क्षेत्रकै रुपमा गनिन्छन् । ती क्षेत्रहरुमा विकासका अनिवार्य पूर्वाधारहरु पनि छैनन् ।

नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन ती गाउँहरुको बिचमा पर्ने चापमा सहरी स्वास्थ्य क्लिनिक खोलिएको छ । त्यहाँसम्म पुग्न पनि नायलबासीलाई करिब १ देखि डेढ घण्टाको पैदल यात्रा गर्नुपर्ने अवस्था छ । सडकको ट्रयाक खोलिएको भएपनि व्यवस्थित सडक पुग्न सकेको छैन । जसका कारण हिउँदमा जसोतसो यातायातका साधनहरु आवतजावत गर्ने भएपनि बर्खामा भने बाटो बिग्रिने हुँदा सवारी साधनको आवतजावत ठप्प हुन्छ । नायलमा कृषि उपजहरु पनि राम्रो उत्पादन हुने गर्दछन् । तर व्यवस्थित सडककै अभावका कारण त्यहाँका किसानका उत्पादित बस्तुहरुले बजार पाइरहेको अवस्था छैन । सकेसम्म पैदल नै भएपनि उत्पादित बस्तुहरु डोकोमा बजार ल्याउने गर्दछन्, नायलबासी ।
स्थानिय हरिदत्त जोशीले सरकारको उपेक्षाका कारण नायल विकट बनेको बताए । विकासका केही बाछिटाहरु मात्रै पनि सरकारले फाल्न सकेको भए नायलबासीको अवस्था नै परिवर्तन हुने उनको भनाइ छ । नायलसम्म पुग्ने सडकको अवस्था सुधार गरे मात्रै पनि नायलबासीका धेरै समस्याहरु समाधान हुने उनले बताए । उनले सडकको विस्तार हुँदा नायलमा पर्यटकीय प्रर्वद्धन गर्न सकिने र स्थानीयबासीले रोजगारीका अवसरहरु पनि पाउने बताए । उनले पर्यटकहरू आकर्षित गर्न सक्ने ठाउँ भएपनि सडक, विजुलीबत्ति लगायतका पूर्वाधारहरुको अभावका कारण यहाँका नागरिकहरुले समस्या भोग्नु परिरहेको बताए ।
आधुनिक युगमा चलिरहेको देशमा विद्युत, सडक विस्तार लगायतका भौतिक पूर्वाधारहरु अनिवार्य जस्तै छन् । तर ती स्थानहरुमा भने सडकको ट्रयाक खोल्ने कामबाहेक अरु हुन सकेको छैन । केही महिनाअघि चाप, सल्ली लगायतका स्थानमा विद्युत सेवा पुगेपनि कतिसम्म दिगो हुने भन्ने यकिन छैन । नायलमा त अझै पनि विद्युत पुग्न सकेको छैन । नगरकै सबैभन्दा सुन्दर र मनमोहक क्षेत्रका रुपमा रहेको नायलको अवस्था अन्य भन्दा नाजुक छ । नजिकै विद्यालय छैन, न त स्वाथ्य चौकी नै छ । ५ कक्षा पास भैसकेपछि त्यहाँका बालबालिकाहरुले माथिको कक्षाका लागि करिब ३ घण्टाको दुरी पार गरेर पैदल रुपमा ओलानीमा रहेको विद्यालयमा आउनुपर्दछ ।
वडामार्फत केही पहलकदमीहरु गरेको भएपनि प्रदेश तथा संघीय सरकारले ध्यान दिन नसकेका कारण नायलबासीको दर्दनाक अवस्था सुधार गर्न नसकिएको वडाध्यक्ष भीम खड्काले बताए । उनले नायललाई सरकारले सुगम पालिकाको दुर्गम क्षेत्र बनाएको बताए । ‘सुगम नगरपालिकाको विकट क्षेत्र हो, पानी पर्ने वित्तिकै सडक बन्द हुन्छ । त्यतिबेला सुत्केरी, विरामीलाई लैजान डोको र स्ट्रेचरबाहेक अन्य विकल्प हुदैन,’ उनले भने, ‘त्यसबाहेक शिक्षामा पनि नायलबासीहरुलाई समस्या छ, त्यहाँका बालबालिकाहरु कक्षा ५ सम्मको मात्रै अध्यापनका लागि भएपनि डेढ घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ । यतिका समस्याहरु हुँदा पनि स्थानीय, प्रदेश तथा संघ कुनै पनि सरकारले नायललाई प्राथमिकता दिन सकेको छैन ।’
उनले सुत्केरीहरुलाई केही सहज होस् भन्ने हेतुले चापमा बर्थिङ सेन्टरको व्यवस्था गरेको भएपनि केही मापदण्डको अभावका कारण सञ्चालनमा आउन नसकेको बताए । प्रदेशका उच्च ओहदाका व्यक्तिहरुले अवलोकन गरिसक्दा पनि नायलको विकासका लागि बजेट छुट्याउन नसक्नुले यहाँका जनताप्रति सरकारको वेवास्ता दर्शाएको उनले बताए ।
नायलमा स्वरोजगारका अथाह सम्भावना हुँदाहुदै पनि स्थानियबासीहरु विदेशिन बाध्य छन् । पर्यटकीय क्षेत्रका रुपमा नायलको विकास गर्नसके मात्रै पनि नायलका धेरै युवाहरुलाई स्वदेशमै रोक्न सकिने अवस्था छ । त्यसका लागि पूर्वाधारहरुको विकासलाई सरकारले पहिलो प्राथमिकता दिन आवश्यक छ । भविष्यमा सरकारलाई आर्थिक रुपमा सबल बनाउन सक्ने र रोजगारी सृजना गर्न सक्ने खालका योजनाहरु नायलमा ल्याउन सके सरकारले त्यसको दोहोरो फाइदा लिन सक्ने देखिन्छ ।