बझाङ – बझाङमा एसईई परीक्षा दिन गएका विद्यार्थी कुटिएका छन । शुक्रवार परीक्षा दिएर बाहिर निस्किएपछि तीन वटा परीक्षा केन्द्रमा ४ विद्यार्थी कुटिएका हुन । खप्तडछान्ना गाउँपालिका – ५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षीय खप्पिस थापा कुटिएको प्रहरीले जनाएको छ ।

थापामाथि धारिलो हतियारले प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए । आक्रमण गर्ने मध्ये एक जना पक्राउ परिसकेको र अन्यको पनि खोजी भइरहेको उनले बताए ।

दुर्गाथली गाउँपालिका – १ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबीच झडप भएको छ ।

कुटपिटमा परी छविसपाथिभेरा गाउँपालिका – १ का १८ वर्षीय अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका – २ का १८ वर्षीय विमल बोगटी घाइते भएका छन । भण्डारी र बोगटीलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
मष्टा गाउँपालिका – ६ भातेखोलास्थीत कुलमष्टजन माविको परीक्षा केन्द्रमा पनि एक परीक्षार्थी कुटिएका छन । परीक्षा दिएर बाहिर निस्किने क्रममा १७ वर्षीय मुन्न बोहरामाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
कुटपिटको कारण नखुलेको र, यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।
