अत्तरिया – अव्यवस्थित रूपमा सहरीकरणको विस्तार भइरहेको अत्तरियामा अझै पार्क निर्माण गर्ने योजनाले सार्थकता पाउन सकेको छैन । सहर भित्र यातायात, खानेपानी, फोहोर व्यवस्थापन सँगै पार्क र मनोरञ्जनका साधनको आवश्यकता पर्ने गर्दछ । तर, अव्यवस्थित रूपमा विस्तार भइरहेको अत्तरियामा खुला क्षेत्र मासिँदै जाँदा पार्कको भविष्य के हुने भन्ने अन्योल छ । अत्तरियामा पार्क बनाउने योजना ७ वर्ष अघि नै ल्याइएको थियो । नगरपालिकाले पार्क निर्माणको लागि अत्तरियाको पूर्व रोडमा रहेको दुर्गा मन्दिर पछाडिको क्षेत्रमा २० लाख खर्चेर घेर बार समेत गरेको थियो । करिब ६ हेक्टर क्षेत्रमा नगरपालिकाले पार्क निर्माण गर्ने भन्दै डिपिआर समेत बनाएर बजेट सुनिश्चितता हुँदा पनि पार्क भने बन्न सकेन ।

अत्तरियामा पार्क बनाउने योजना पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रममा छनोट भएको थियो । पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमले देशभरिबाट योजना माग गर्दा छनोट भएका २ सय योजनामा अत्तरिया पार्क पनि परेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका, २०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रम अन्तर्गत अत्तरिया पार्क छनोट गरेको थियो ।


जसअन्तर्गत मन्त्रालयले ३ करोड २२ लाख विनियोजन गरेको थियो । जसमा नगरपालिकाले ३० प्रतिशत अर्थात् १ करोड ७२ लाख छुट्याउनु पर्ने थियो । तर, पछि नगरपालिकाले पार्कका लागि डिपिआर गरेको क्षेत्रमा वन कार्यालयले सशस्त्र वन रक्षक तालिम केन्द्र निर्माण गर्ने भन्दै जग्गा ओगटेपछि पार्कको योजना हाल सम्म पनि अलपत्र छ । पार्क निर्माणका लागि आवश्यक थप जग्गा उपलब्ध गराउन सुरक्षा सामुदायिक वनले सहमति जनाए पनि त्यसपछि पार्क निर्माणमा नगरपालिकाले नै चासो नदिँदा उक्त योजना अलपत्र परेको हो ।

जबकि सुरक्षा सामुदायिक वनमा पार्क बनाउने भन्दै गोदावरी नगरपालिकाले २० लाख खर्च गरेर घेर बार गरिसकेको छ भने वनस्पति अनुसन्धान केन्द्र कैलालीले पनि आर्थिक वर्ष २०७३÷७४ मा ५ लाख खर्च गरेर पार्कका संरचना निर्माण गरेको थियो । पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रममा पार्क निर्माणका लागि खरिद प्रक्रिया र ठेक्का सम्झौता पालिकाले गर्नुपर्ने उल्लेख थियो । बहुवर्षिय उक्त योजना २०८० फागुन मसान्त सम्म सम्पन्न गर्नुपर्नेमा गोदावरीमा भने कसैले चासो नै नदिँदा योजना त्यत्तिकै तुहिएको छ । वनबाट सहमति ल्याउने झमेलामा अल्झिन नचाहेर तत्कालीन समयमा योजना अगाडि नबढाइएको दाबी गरिन्छ ।
गोदावरी नगरपालिकाका तत्कालीन इन्जिनियर पूर्ण कुवरले तत्कालीन समयमा साइड क्लियर गर्नुपर्ने चुनौती र कोरोनाको कारण योजना अगाडि बढ्न नसकेको बताए । उनले साइड क्लियर नगरी ठेक्कामा लग्दा पछि झन्जट हुने भएकाले तत्काल ठेक्का प्रक्रिया अगाडि नबढेको बताए । उनले त्यसपछि आफू नगरबाट बाहिरिएकाले किन रोकियो भन्ने बारेमा जानकारी नभएको बताए ।
पुराना जनप्रतिनिधिले पार्कको योजना अगाडि बढाएका भए पनि त्यो किन रोकियो भन्नेबारे नयाँ आएका जनप्रतिनिधिले अनविज्ञता प्रकट गरेका छन् । पार्कको योजना किन रोकियो भन्ने बारेमा आफूलाई जानकारी नभएको नगरका प्रवक्ता गोपाल दत्त भट्टले बताए । उनले यस विषयमा बुझेर मात्रै बोल्न सकिने बताए । सहरीकरणको विस्तार भइरहेको भए पनि अत्तरियामा अझै एउटा पनि पार्क बन्न सकेको छैन । जसले गर्दा अत्तरिया बजार पार्क विनाको सहरमै सीमित रहने हो कि भन्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।