अत्तरियावासी भन्छन : सेनाको बोली र व्यवहार फरक किन ?

अत्तरिया, १७ चैत– कैलालीको अत्तरियामा रहेको बसपार्क लगायतका केही संरचनाहरू आफ्नो भोगाधिकारमा रहेको भन्दै नेपाली सेनाले हकदाबी गर्न थालेपछि स्थानीयहरू त्यसको विरोधमा उत्रिन थालेका छन् । सेनाले आफ्नो भोगाधिकारमा रहेको भनेर भन्दै आएको जमिनमा ६१ वटा व्यक्तिहरूका भवन बन्नुका साथै, अत्तरिया बसपार्क, लामिताल लगायतका संरचनाहरू रहेका छन् । उक्त संरचनाहरूको विस्तार एवम् विकासमा सेना बाधक बन्दै आइरहेको छ ।

maya metro hospital

लामिताल र बसपार्क निर्माणमा सेना बाधक बन्दै आइरहेको भन्दै शनिवार गोदावरी नगरपालिकाले बसपार्कमै गोष्ठीको आयोजना गरेको थियो । उक्त गोष्ठीमा सबै राजनीतिक दलका प्रतिनिधिहरूका साथै स्थानीयहरूको पनि सहभागिता रहेको थियो । गोष्ठीमा सहभागी सबैले नेपाली सेनाले बोली र व्यवहारमा फरक गर्न थालेको गुनासो पोखे ।

 

attariya hospital

विपरीत व्यवहार हुन थाल्यो

स्थानीय रुपेश बिकले करिब ३ वर्षअघि सेनाकै कर्नेल सँग छलफल हुँदा एकथरी कुरा गरेपनि अहिले त्यसको विपरीत व्यवहार हुन थालेको बताए । ‘३ वर्षअघि तत्कालीन नगरप्रमुख हरि सिंह साउँदको पालामा नेपाली सेनाका तेघरी गणका तत्कालीन गणपति कर्नेल विकास केसीलाई भेट्दा उहाँले पोजेटिभ कुरा गर्नुभयो । उहाँले हामीले जनताकै लागि हो, तपाईँहरूको बस्ती र बसपार्कलाई हामी केही गर्दैनौ भन्ने कुरा गर्नुभयो’ उनले भने ‘तर प्रत्येक वर्ष गणपति चेन्ज हुने र उनीहरूले आफ्नो खल्तीको नियम लगाउने कुरा मैले बुझ्न सकिन् ।

नेपाली सेना, पुलिस व्यवसायीक हुने ?, सेना प्रहरीको काम सुरक्षा गर्ने हो ।’ २०३५/३६ साल देखि बसेको बस्ती २०६१ सालमा भोगाधिकार पाउने व्यक्तिको कसरी भयो भन्दै उनले प्रश्न गरे । उनले जनतालाई आएर तर्साउने, व्यापारीहरूलाई धम्काउने कार्य समेत सेनाले गरिरहेको बताए । उनले सेनाले सीमामा गएर देशको सुरक्षा गर्नुको साटो जनतालाई धक्याउने तर्साउने कार्य गर्नु नैतिक रुपमा पनि लज्जाहीन भएको बताए ।

समग्र अत्तरियावासी समस्यामा परे

स्थानीय प्रजापति महराले सेनाका कारण ६१ घरपरिवार मात्रै नभई समग्र अत्तरियावासी समस्यामा परेको बताए । उनले अत्तरियामा रहेको बसपार्क, लामिताल लगायतका संरचनाहरूको संरक्षणका लागि सबैले एकजुट हुन आवश्यक रहेको बताए । अर्का स्थानीय लिलाधर सापकोटाले २०३६ साल देखि बसेको बस्तीलाई संकटकालको अवस्थामा अस्थायी रुपमा नेपाली सेनालाई दिने निर्णय भएको भन्ने कुरा सुन्नमा आएको बताए । उनले तत्कालीन समयमा रहेका नेताहरूसँग गुहार माग्दा पनि उनीहरूले अस्थायी रुपमा नै दिईएको र त्यसमा नागरिकहरूलाई समस्या नहुने भन्ने आश्वासन पाएकोमा अहिले आएर सेनाले फेरी दाबी गर्न थालेको बताए । ‘राजाको कालमा गरिएका निर्णयहरू खारेज गरिएको र स्थानीयहरूलाई केही समस्या नहुने भनेर तत्कालीन प्रधानमन्त्रीले भन्दा हामीहरू ढुक्कले बसेका थियौ’ उनले भने ‘सेनाले पनि बसपार्क र अत्तरिया बजार छोडेर सरकारले अन्त जग्गा दिए त्यसै बस्ने भन्ने कुरा गरेका थिए, अहिले स्थानीय सरकारले त्यो निर्णय गर्दा पनि नेपाली सेनाले अवरोध गरिरहेका छन् ।’ उनले सेनाले आफूहरूलाई बस्ती नउठाउने, नागरिकलाई समस्या सृजना नगर्ने भन्ने तर व्यवहारमा भने बोली भन्दा विपरीत देखाउने गरेको बताए । उनले बसपार्क, लामितालर अत्तरिया क्षेत्रका भौतिक संरचनाहरूको सुरक्षाका लागि आफूहरू प्रतिवद्ध भएर लाग्ने बताए ।

चौराहा ओगट्न दिइन्न

नेपाली कांग्रेसका युवा नेता हरि भट्टराईले नागरिकको सुरक्षा, गाउँ ठाउँको सुरक्षाका लागि नेपाल प्रहरी रहेको बताए । उनले नेपाली सेनाले सकभर गोप्य रुपमा जङ्गलमा बस्नुपर्न ठाउँमा सटर बनाउने उद्देश्यका साथ चौराहा ओगट्ने कुरा नेपाली जनताले स्वीकार गर्न नसक्ने बताए । उनले विदेशी खुफिया विभागलाई खोज्न हम्मे हम्मे पर्ने स्थानमा सेनाको बसोबास हुनुपर्ने अवस्थामा सेनाको इतिहासलाई धमल्याउने काम नगर्न उनले सेनालाई आग्रह गरे । उनले सामान्य कुरामा नेपाली सेना अल्झिन नहुने बताए ।

नागरिक नभई सुरक्षाकर्मीको वर्चस्व

स्थानीय समाजसेवी टिकादत्त जोशीले अत्तरिया नागरिकको हब नभई सुरक्षाकर्मीको वर्चस्व भएको क्षेत्र भएको बताए । उनले तत्कालीन समयमा १२ हेक्टर जमिन सेनाको नाममा रहेको भनेर सुन्नमा आएकोमा अहिले आएर त्यसलाई १७ हेक्टर भन्ने सुनिएको बताए । ‘पहिलेको र अहिलेको कुरा फरक फरक छ, स्पष्ट छैन’ उनले भने ‘हामी अझै समस्यामा छौ, सेनाको जमिन साँच्चिकै हो कति ?, कहाँ देखि हो ? पहिले यो स्पष्ट हुन जरुरी छ ।’ उनले सेना पनि देशको गहना भएकाले त्यसलाई सहयोग गर्न आफूहरू तयार रहेकामा सेनाले पनि नागरिकको समस्या बुझ्नुपर्ने बताए । उनले जनतालाई आत्मसन्तुष्टिका साथै सेनाको पनि समस्या समाधान हुने गरी समझदारीको बाटोमा जानुपर्ने बताए ।

अन्यायका विरुद्ध नबोल्दा समस्या

स्थानीय राजनीतिज्ञ मेखराज भट्टले आफूमाथि भएको अन्यायका विरुद्ध बोल्न नसक्दा नै अत्तरिया धेरै पछाडि पर्न गएको बताए । उनले राज्यको अंग भए पनि सेना, प्रहरीले अत्तरिया बजारको वरपर ब्यारेकहरू ल्याएर राख्दा बजार कहाँ लगेर राख्ने भन्ने विकल्प पनि दिइनुपर्ने बताए । ‘अत्तरियालाई भन्दा खेरी सुदूरपश्चिमको केन्द्र, प्रदेशको राजधानी भन्ने, व्यवहारमा सेनाका ब्यारेक हुने, सशस्त्रका ब्यारेक हुने’ उनले भने ‘त्यति हुँदा पनि हाम्रा चेलीबेटीहरू सुरक्षित नहुने, बजार विस्तार हुन नपाउने, विकास निर्माणका काम गर्दा अवरोध हुने अवस्था छ । तर काम गर्न दिएन भनेर विरोध हुने काम भइरहेको छ ।’ उनले ठुला ठुला खाल्डाहरू भएको क्षेत्रमा जनताको पैसा खर्च भएर अहिले यस्तो बसपार्क बनेको बताए । ‘बसपार्कमा यत्रो संरचना बन्दा सम्म ६१ सालमा भोगाधिकार ल्याएको सेनाले १० वर्षपछि बसपार्क बनाउँदा नबनाउनुस् नभन्ने, तर अहिले खुला चौर मैदान देखेर हामी यहाँ पेट्रोल पम्प राख्छौ भन्नु हामी माथि अन्याय हो र त्यो अन्याय हामी सहँदैनौ’ उनले भने ।

उनले अबको नेपाली जनता अन्याय सहेर बस्दैनन् भनेर सेनाले बुझ्नुपर्ने बताए । ‘शाही कालमा भएका जनविरोधी निर्णय स्वत् खारेज हुनेछन् भनेर संविधान सभाको पहिलो बैठकले निर्णय गरेको छ’ उनले भने ‘यो पनि जनविरोधी निर्णय हो नि, यहाँ ६१ परिवारको घर भत्काइदिने, बुद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गुम्बा भत्काइदिने, रेडक्रस सोसाइटिको जनताले बनाएको भवन भत्काइदिने, बसपार्क मिच्दिने यो जनविरोधी निर्णय भएन ? यो खारेज हुनुपर्छ, हाम्रो माग त्यही हो ।’ उनले सेनाको उच्च तहका अधिकारीहरूसँग कुरा हुँदा उहाँहरूले सहमति गर्ने र पछाडि दिनुस् भन्ने तर यता सानो विकासका काम गर्ने बित्तिकै विरोध गर्ने काम भइरहेको बताए । जनदबाब सृजना गर्नका लागि सबैले एकजुट हुनुपर्ने उनको भनाई छ ।

बसपार्क सेनालाई दिन सकिदैन

नेकपा एमालेका गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्टले सबैको सहयोगले बनेको बसपार्क कुनै पनि हालतमा सेनालाई दिन नसकिने बताए । उनले गोदावरीको विकासका लागि सबै राजनीतिक पार्टीहरूले एक ठाउँमा उभिन जरुरी रहेको बताए । उनले नगरप्रमुखले नेतृत्व गरे यहाँको विकासका लागि नेकपा एमाले जुनसुकै हालतमा पनि सहयोग गर्न तत्पर रहेको बताए । उनले अहिले सिङ्गो नगरपालिका कुरूप बनेकाले नगरको अभिभावको हैसियतले नगरप्रमुखले विकासको नेतृत्व लिनुपर्ने बताए । त्यसका लागि आफ्नो पार्टीले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको उनले बताए ।

बनिसकेका संरचनाको सुरक्षा हुनुपर्छ

नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति वसन्त रोकाया (ललित) ले अत्तरिया क्षेत्रमा बनिसकेका संरचनाहरूको सुरक्षाका लागि सबैको एकजुट हुनुपर्ने बताए । उनले नजिकका लामिताल, बसपार्क, अत्तरिया उद्योग वाणिज्य संघको भवन, रेडक्रस लगायतका संरचनाहरूको जमिन सुरक्षाकर्मीले छोड्नुपर्ने बताए । उनले करोडौँ लगानी लगाएर बसपार्क बनाउँदा सम्म चुप बस्ने तर अहिले आएर विरोध गर्ने कार्य उचित नभएको बताए । उनले जनतालाई डराएर, थर्काएर कब्जा गर्ने सोच सेनामा रहेको बताए । उनले त्यसको विरोधमा गोदावरी नगरपालिकासँग हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए ।

विकासका काममा अवरोध हुनु अनुचित

सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अत्तरिया क्षेत्रमा विकासका काम गर्न खोज्दा अवरोध हुने काम हुनु उचित नभएको बताए । उनले विकास निर्माणका काममा अवरोध हुँदा गोदावरी बासीले आन्दोलनमा होमिनुपर्ने परिस्थितिको सृजना भएको बताए । उनले गोदावरी बासीको विकास निर्माण गर्ने स्तर अत्तरिया बजार भएको र त्यसको वरपर सेना, सशस्त्र प्रहरी र प्रहरीले घेरेर राखेको बताए । उनले अत्तरियाको विकास नभएसम्म गाउँको विकास नहुने र अत्तरियाको विकासले नै गोदावरीको विकासलाई चिनाउने बताए । उनले जनताका घर, मन्दिर भएको ठाउँमा हेलिकप्टरबाट नक्सा बनाएर आफ्नो जग्गा भन्नु न्याय सङ्गत नभएको बताए । उनले जनताको करबाट तलब खाने नेपाली सेनाले देशको सेवा गर्ने जिम्मेवारी लिनुपर्ने बताए । उनले देशको सुरक्षा गर्नुको साटो अत्तरिया क्षेत्रमा आफ्नो स्वामित्व जमाउन खोज्न नहुने बताए । उनले जनताकै करबाट तलब खाएर जनतासँग पौँठे जोरी खोज्दा भोलि नराम्रो दिन आउन सक्ने समेत बताए ।

कुरा नरम व्यवहारमा उल्टो

गोष्ठीमा बोल्दै नगरप्रमुख विरेन्द्र भट्टले गोदावरीमा आएका समस्याहरूका लागि सर्वदलीय छलफल गरेर अगाडी बढिरहेको बताए । उनले अत्तरिया क्षेत्रको भोगाधिकारको विषयमा हुने छलफलमा सेनाका प्रमुखहरूले नरम स्वभावमा कुरा गरेर व्यवहारमा भने उल्टो परिपाटी अवलम्बन गर्ने गरेको बताए । ‘करिब ६ महिना अगाडी नाप जाँच सकेर पुर्जा वितरण गर्ने प्रक्रिया अगाडी थाल्दा सेनाले रोकेको छ, जबकि ३ दिन अघि सेनाले हामीले गरेका छैनौ भनेर भन्नुभयो’ उनले भने ‘यहाँ एकल रुपमा आएर बसपार्क खालि गर्नुस् भनेर यहाँका कर्मचारीहरूलाई थर्काएको अवस्था छ, भूमि आयोगलाई परिपत्र दिएका छैनौ भन्छन् तर आयोगमा परिपत्र गएको छ । यस्ता कार्यले समग्रमा सेनाले हामीलाई झुक्याउदै गएको हामीले बुझेका छौ ।’ उनले समग्र विकासको बाधक नेपाली सेना बन्न नहुने बताए । उनले सेनालाई राजनीतिक प्रेसर दिने काम समेत नगरेको बताए ।

उनले आफूहरूले सेनासँगै समन्वय गरेर सामुदायिक वन क्षेत्रको अन्य भूभाग दिने निर्णय गर्दा समर्थन गर्ने तर पुनः आफैले बसपार्कको विकासमा बाधक बन्ने काम सेनाले गर्दै आइरहेको बताए । उनले बसपार्कको व्यवस्थापनका लागि डिपिआर सहित बनिसकेको र सो अनुसार काम गर्ने सिलसिलामा सेना बाधक बनिरहेको बताए । उनले विगत देखि नै सर्वदलीय बैठकको निर्णय बमोजिम १७ हेक्टरको ठाउँमा २५ हेक्टर दिने र सेनालाई पेट्रोल पम्पका लागि पूर्वपश्चिम राजमार्गमा १ बिगाहा जमिन दिने समेत सेनासँग सहमति भएको बताए ।

‘कर्नेल रवि केसीलाई सर्वदलीय बैठकले गरेको निर्णयको बारेमा तपाई सँग सहमति हुँदा पनि तपाईँले अहिले आएर बसपार्कमा पेट्रोल पम्प बनाउने अवधारणा तपाईँको हो भने तपाईँलाई छोडिँदैन भनेर मैले उहाँलाई भनेको छु’ उनले भने ‘त्यति मात्रै नभई बन्दुकको बलमा अत्तरिया नगर बासीलाई तर्साउने कोसिस गर्नुभयो भने त्यो असम्भव हो, म पहिलो गोली खान तयार छु समेत उहाँलाई भने ।’ उनले सेनाले बोलीमा र व्यवहारमा भिन्नता देखाउने गरेको बताए । उनले यहाँको विकासको बाधक नेपाली सेना भइरहेका जनतासँग निहुँ खोज्ने काम नगर्न र गोदावरीको समग्र विकासको बाधक बन्ने काम नगर्न सेनालाई अनुरोध गरे ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.