बझाङ – नेकपा एमालेका बझाङ १(१) प्रदेश निर्वाचन क्षेत्रका लागि उम्मेदवार छानेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अन्य दलहरुले भने उम्मेदवारको टुङ्गो लगाइसकेका छैनन् । बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच बैठकले ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । स्वेच्छाले राजीनामा दिएका महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनीन गरिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘पार्टी केन्द्रीय सदस्य ऐन महरले केही समयअघि स्वेच्छाले राजीनामा दिनुभएको थियो र स्वीकृत पनि भएको थियो’, ज्ञवालीले भने, ‘पछि उहाँले पार्टीमा फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारितासाथ काम गर्ने प्रतिबद्धता गर्नुभएकाले पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने निर्णय पनि गरेको छ ।’
