अत्तरिया – अत्तरियाकी ममता विकलाई कपडा भाडामा दिन भ्याइ नभ्याई भ्याइ छ । नास्ता पसल सञ्चालन गरेकी उनले गोदावरीको काठे पुल छेउमा पछिल्लो ९ महिना देखि भाडामा कपडा दिन थालेकी हुन । भाडामा कपडा राखेपछि उनको आम्दानी पनि दोब्बरले बढेको छ । ‘पुलमा घुम्न आएका पर्यटकहरूलाई हामीले भाडामा कपडा दिन्छौ’ उनले भनिन् ‘आधा घण्टाको ५०, एक घण्टा प्रयोग गरे १ सय रुपैयाँ लिन्छौ ।’ उनले कपडा भाडामा दिएबापत शुक्रवार शनिवार राम्रो आम्दानी हुने बताइन् । ‘कुनै दिन दिनमै १० हजार सम्म पनि आम्दानी हुन्छ’ उनले भनिन् ‘यहाँ काठमाण्डौं, पोखरा देखि पनि मानिसहरू घुम्न आउन्छन ।’ उनले पसलमा राई, मगर, लिम्बु, शेर्पा, तामाङ सँगै नेपाली पोसाक राखेकी छिन । हाल उनीजस्तै पुल आसपासमा आधा दर्जन पसलहरूले परम्परागत पोसाक भाडामा दिने गरेका छन् ।
पुलमा परम्परागत कपडामा सजिनेहरूको फोटो खिच्ने युवाहरूको पनि त्यतिकै भिड छ । पुलमा दिनभरि फोटो खिच्दै आएका प्रभाकर भट्टराईले शनिवारका दिन राम्रै आम्दानी हुने गरेको बताए । उनले औसतमा दैनिक २ देखि ३ हजार फोटो खिचेर आम्दानी हुने गरेको बताए । उनका अनुसार हाल पुलमा २० जना भन्दा बढीले फोटो खिच्ने काम गर्दै आइरहेका छन् ।
पुलमा घोडा चढाउने व्यवसाय पनि फस्टाएको छ । पुलमा घोडा सञ्चालन गर्दै आएका नरेश अधिकारीले पनि दिनमा २ देखि ३ हजार सम्म आम्दानी हुने गरेको बताए । घोडामा बसेर पुलमा फन्को लगाए बापत उनले ५० देखि १ सय रुपैयाँ सम्म लिने गरेका छन् ।
पर्यटक लोभिँदै
पुलमा घुम्न आएकी धनगढीकी पूजा खडायतले पुलमा निकै रमाइको लागेको बताइन् । उनले पुलमा पुग्दै निकै आनन्द आउने बताइन् । ‘म आठ वर्ष पछि यहाँ आएकी हुँ । पहिले पुलमा गाडी चल्दा खासै यसरी रमाइलो गर्न पाइन्थेन’ उनले भनिन् ‘अहिले पुलमा घुम्न पाइने रहेछ । राम्रो लाग्यो ।’ पुलमा घुम्न आएकी प्रीति जोशीले पनि पुलमा निकै रमाइलो लागेको बताइन् । उनले बिदाको समयमा पुलमा घुम्न आउने गरेको बताइन् ।
पुलमा घुम्न आएका महेन्द्र सामन्तले पुलमा रमाइलो भए पनि अन्य पूर्वाधार पनि निर्माण गरिनुपर्ने बताए । उनले पुल सँगै मन्दिर निर्माण गरेर पुलको मर्मत गरिदिए अझै राम्रो हुने बताए । ‘मानिसहरूलाई थप आकर्षण गर्नको लागि नयाँ नयाँ पूर्वाधार विकास गर्न आवश्यक छ’ उनले भने ‘पुलमा नयाँ टेक्नोलोजी पनि प्रयोग गर्न सके अझै पर्यटकको आकर्षण बढ्छ ।’
पुल पालिका मातहत ल्याइँदै
गोदावरी नगरपालिका – ४ मा रहेको काठे पुलमा पर्यटकको आकर्षणको केन्द्र बने पनि यसमा अझै धेरै काम गर्न बाँकी रहेको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए । उनले पुल हाल सडक डिभिजन कार्यालयको मातहतमा भएकाले धेरै काम गर्न नसकिएको बताए । ‘पुलमा बजेट हाल्न खोजे पनि पुल नगरको स्वामित्व नगरपालिका मातहतमा नभएकाले हामीले सडक विभागमा प्रक्रिया अगाडि बढाएका छौ’ उनले भने ‘महाकाली सडक डिभिजनमा कागजात बुझाइसकेका छौ ।’ उनले पुलको स्वामित्व नगरपालिका मातहतमा आएपछि काम गर्न सहज हुने बताए ।
उनले पुलको पुरै मर्मतका लागि ४६ लाख बजेट आवश्यक भएको बताए । उनले आवश्यक बजेट केन्द्रमा माग गरे पनि रोकिएको बताए । उनले वडा र नगरबाट गत वर्ष पुलको किनारामा जाली लगाइएको बताए । उनले वन सँग समन्वय गरेर पुलको काठ मर्मत, लायन्स क्लब धनगढी सँगको समन्वयमा पुलको रंगरोपन र अत्तरियामा रहेको थ्रिडिभिएलले पुलमा झन्डा राखेर पुललाई आकर्षक बनाउन सहयोग पु¥याएको बताए । उनले अझै पुलमा काठ परिवर्तन गर्ने, गेट निर्माण गर्ने, शौचालय, पिकनिक स्पोट बनाउने योजना रहेको बताए ।
पुलको उत्तर पट्टिको पिल्लरमा गतबर्ष आएको बाढीले क्षति पु¥याएको थियो । भत्किएको ठाउँमा हाल राष्ट्रपति चुरे–तराइ मधेस संरक्षण विकास समितिद्वारा १६ लाख ६७ हजार रकम खर्चेर बाध निर्माण गरिएको वडा अध्यक्ष मल्लले बताए ।
भिडियो