भाइरल बनिहाल्ने होडबाजीले गीतसङ्गीतको स्तर खस्किरहेको छ : गायक चोखाल (अन्तरवार्ता)

अत्तरिया – गोदावरी नगरपालिका – ७ कैलालीमा जन्मिएका सुरेश चोखाल मूलतः गायक सर्जक हुन । उनका यस अघि आधा दर्जन गीत बजारमा आएका छन् । स्नातकसम्मको ओैपचारिक अध्ययन गरेका चोखाल हाल स्वास्थ्य क्षेत्रमा आबद्ध छन् । उनै चोखासँग कवि तथा कथाकार खेम बतासले गरेको छोटो कुराकानी ।

maya metro hospital

१. भर्खरै नयाँ गीत लिएर आउनु भएको छ ? दर्शक श्रोताहरूबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

धन्यवाद, प्रतिक्रिया धेरै राम्रो छ । सुदूरपश्चिमको टिपिकट भाषा प्रयोग गरिएको मेरी बौजू गीतले दर्शक श्रोताको मन जितेको छ ।

attariya hospital

२. नेपाली गीतसङ्गीतमा सुदूरपश्चिमको स्थान कस्तो छ ?

लोक साहित्यमा सुदूरपश्चिमको स्थान अग्र रहेको छ । फाग, माङगल हुड्केली चैत चान्चरी हाम्रा गीतका आदि रूप हुन । मेला पर्वमा गाइने डेउडाले पनि गीत सङ्गीतको श्रीवृद्धिमा ठुलो भूमिका खेलेको छ । विज्ञान तथा प्रविधिको प्रयोगले समकालीन समयमा झन् सुदूरपश्चिमको गीत सङ्गीतलाई अन्तर्राष्ट्रियकरण हुन सहयोग गरेको छ ।

३. गीत सङ्गीतको क्षेत्रमा टिकिरहन किन सक्दैनन् स्रष्टाहरू ?

पहिलो कुरा त स्तरीय गीत र सङ्गीतको कमी नै हो तर राम्रा गीत छैनन् भन्न खोजेको चाहिँ होइन । राम्रा सिर्जना पनि छन् । जहाँसम्म स्रष्टा टिकिरहन किन सक्दैन भन्ने सवाल छ, राज्यको स्रष्टा मैत्री नीतिको अभाव पनि एक हो र स्रष्टाले गीतसङ्गीतलाई मात्र मुख्य पेसा बनाउँदा जोखिम बहन गर्नु त पर्छ नै । जीवनको लामो यात्रामा थुप्रै पटक उतारचढाव त आउँछन् नै । निरन्तरताको साधनाले नै सिर्जना माझिन्छ भन्नेमा दुई मत छैन र अर्को कुरा सिर्जना प्रयोगशील हुन जरुरी हुन्छ । दर्शक श्रोताले नयाँपन मन पराउँछन् । नयाँपन दिन नसक्दा सर्जक गुमनाम हुनुपर्ने अवस्था आउँछ कि ।

४. तपाईका गीतहरू किन सुन्ने किन हेर्ने दर्शक श्रोताहरूले ? के कुरा चाहिँ नयाँ छ तपाईका सिर्जनामा ?

मैले प्रायजसो लोक देउडा, आधुनिक र देउडा गीतहरू गाएको छु । सुदूरपश्चिमको समाजको यथार्थ चित्रण गर्नु मेरा गीतको मुख्य अभिप्राय हो । डोटेली भाषा, यहाँको मौलिक संस्कृति र अहिलेको युवाहरूले पाउने साङ्गीतिक मनोरञ्जन नै मुख्य कुरो हो ।

५. सुदूरपश्चिमका गायक गायिका र गीतसङ्गीतको समस्या के हो ? देश विदेशका कार्यक्रममा व्यस्त हुनुहुन्छ । कस्तो लाग्दै छ ?

हतारमा भाइरल बनिहाल्ने होडबाजीले गीतसङ्गीतको स्तर तुलनात्मक रुपमा खस्किँदो छ । र अर्का कुरा सहकार्य र सहअस्तित्वको भावनाको कमी छ कि ? पश्चिमको मौलिक संस्कृतिलाई तोडमोड गरी नयाँपन दिने नाउमा भएका प्रयोगले पनि गीत सङ्गीतमा समस्या देखिएको छ । बाढीमा धेरै कुरा आउँछन् जब बाढी सेलाउँछ तब सङ्लिन्छ , अनि शान्त भएर बग्छ नदी हो त्यस्तै हो सङ्गीतको यात्रा पनि । चिरकालमा पक्कै पनि सिर्जनाको मूल्याङ्कन हुन्छ नै । दुबई र मलेसियामा जाने अवसर मिल्यो निकै उत्साह थपेको छ । नेपालीभन्दा विदेशमा रहेका नेपाली दर्शक श्रोताले दिने मायाले झन् पुलकित बनाएको छ ।

६. मेरी बौजूमा के कस्तो विषयवस्तु उठाउनु भएको छ छोटकरीमा बत्ताइदिनु हुन्छ कि ?

मेरी बौजू ठट्यौली पाराको गीत हो । यसमा देवर र भाउजूको सवाल जवाफ छ । दाजु बम्बैमा पैसा कमाउने तर घरमा भाउजूले रमाइलो गर्दै हिँड्नुले घर व्यवहारमा देखिएको विचलन देखाएको छ भने ग्रामीण समुदायमा बिडी खाने परम्पराले महिलाहरूको दैनिकीलाई पनि देखाउन खोजेको छ । देवरले भाउजूका सबै हर्कत दाजुलाई भनिदिने भनी भाउजूलाई दिएको प्रेमपूर्वक र धम्कीले गीत ठट्यौली बनेको छ ।

७. अन्तमा दर्शक श्रोतालाई के भन्न चाहनु हुन्छ ?

नयाँ गीत लिएर आएको विगतका गीतझैँ मेरी बौजूलाई पनि हेरेर सुनेर साथ दिनु होला । के कस्तो लाग्छ तपाईँको प्रतिक्रियाको पर्खाइमा छु भन्न चाहन्छु । र अन्यमा तपाईँ र पत्रिका परिवारलाई पनि धन्यवाद छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.