गोदावरीको राष्ट्रपति रनिङ शिल्डमा अस्वाभाविक खर्च, प्रशिक्षकमा मात्रै साढे ३ लाख

अत्तरिया, १९ फागुन– कैलालीको गोदावरी नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा अस्वाभाविक रुपमा खर्च गरेको पाइएको छ । नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मात्रै नगरले ११ लाख रुपैयाँ खर्च गरेको थियो । जसमा प्रशिक्षकमा मात्रै नगरले ३ लाख ४८ हजार १ सय रुपैयाँ खर्च गरेको छ । नगरको शिक्षा शाखाले दिएको विवरण अनुसार प्रशिक्षकका लागि खर्च गरिएको रकमको पनि हिसाब मिलेको छैन । नगरले उपलब्ध गराएको प्रशिक्षकको खर्च शीर्षकमा ३ लाख ४८ हजार १ सय उल्लेख भएपनि यकिन खर्च भने २ लाख ८३ हजार ६५० मात्रै भएको छ ।

maya metro hospital

प्रतियोगितामा प्रशिक्षकहरूलाई प्रतिदिन १ हजारका दरले भत्ता, २ सय खाजा खर्च र ५ सय रुपैयाँ यातायात वाफत दिइएको नगरका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले जानकारी दिए । प्रशिक्षकलाई दिइएको भत्ता वाफतको रुपैयाँमा भने १५ प्रतिशत कर कट्टा गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले बताए । कर कट्टा गरेर एक जना प्रशिक्षकलाई प्रतिदिन नगद रु. १ हजार ५५० रुपैयाँ नगरले प्रदान गरेको छ ।

शिक्षा शाखा प्रमुख जोशीले दिएको जानकारी अनुसार नगरले प्रतियोगिताका केही खेलहरूका लागि दुई दिन र केही खेलहरूका लागि ३ दिन प्रशिक्षक राखेको थियो । जसमा उसु, तेक्वान्दो र कराँते खेलका लागि २ दिन प्रति खेल १०/१० जनाका दरले प्रशिक्षक थिए । यसरी हेर्दा उक्त खेलहरूमा प्रतिदिन १० प्रशिक्षकका दरले दुई दिनसम्म तिन खेलका लागि कुल जम्मा ६० प्रशिक्षक बराबरको खर्च भएको छ । ६० प्रशिक्षकलाई प्रति प्रशिक्षक १ हजार ५५० का दरले दिईदा ९३ हजार हुन आउँछ ।

attariya hospital

त्यस्तै भलिबल र कबड्डी लागि प्रति खेल १२ जनाका दरले ३ दिन प्रशिक्षक राखिएको शिक्षा शाख प्रमुख जोशीले बताए । यसरी हेर्दा सो खेलहरुका लागि कुल जम्मा ७२ प्रशिक्षक बराबरको खर्च भएको छ । ७२ प्रशिक्षकलाई माथि उल्लेखित दरकै आधारमा रकम दिईदा १ लाख ११ हजार ६०० हुन आउँछ ।

एथ्लेटिक्सका लागि मात्रै नगरले १७ जना प्रशिक्षक राखेको थियो । जुन खेल ३ दिनसम्म खेलाइएको थियो । ३ दिनसम्म १७ जनालाई प्रतिदिन सोही दरमा भत्ता दिईदा ७९ हजार ५० रुपैयाँ खर्च हुन आउँछ । नगरले प्रशिक्षक भत्ता भनेर ३ लाख ४८ हजार १ सय राखेपनि खर्च भने २ लाख ८३ हजार ६५० मात्रै भएको देखिन्छ । खर्च कम भएपनि बढी देखाईदा उक्त रकम हिनामिना भएको आशंका गरिएको छ । नगरले दिएको विवरण अनुसार खर्च देखाइएको रकम र यकिन रुपमा खर्च भएको रकममा ६४ हजार ४५० रुपैया को फरक देखिएको छ । उक्त रकम कुन शीर्षकमा खर्च भएको हो भन्ने देखाइएको छैन ।

नगरले प्रशिक्षक भत्ता शीर्षकमा देखाइएको उक्त रकम केही प्रशिक्षकहरूलाई खाना खुवाउनुपर्ने भएकाले बढी खर्च भएको जनाएको छ । नगरका शिक्षा शाखा प्रमुख जोशीले प्रशिक्षकहरूलाई दिइएको भत्ता बाहेक केही प्रशिक्षकहरूलाई खाना पनि खुवाउनुपर्ने भएकाले उक्त रकम खर्च भएको बताए । उनले प्रशिक्षककै खर्च भएकाले उक्त रकम पनि प्रशिक्षक भत्तामा जोडिएको बताए ।

त्यसबाहेक खेलमैदान निर्माण तथा तयारी शीर्षकमा २९ हजार ५००, टेन्ट व्यवस्थापनमा ६० हजार, उद्घाटनमा ५८ हजार १७० र खेल सामग्रीमा १ लाख २८ हजार २३६ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । त्यसका साथै प्रमाणपत्र छपाईमा ९ हजार ८०१, पुरस्कार सामग्री, ट्रफी तथा मेडलमा १ लाख ५१ हजार ७३६, चुनामा ३ हजार ९, सुरक्षा र स्वास्थ्य खाजामा १० हजार, स्वास्थ्य सामग्रीमा १० हजार, भिडियोग्राफीमा १२ हजार, मार्च पास मूल्यांकनमै १ हजार ५ सय खर्च गरिएको छ ।

बैठक र अनुगमनमा ६४ हजार खर्च

यसैबीच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि नगरले छुट्याएको बजेटमा ६४ हजार अनुगमन तथा बैठकमा खर्च भएको देखिएको छ । नगरको शिक्षा शाखाले दिएको विवरण अनुसार निर्देशन समितिको बैठकको भर्पाई र अनुगमनकर्ताको भरपाईमा उक्त रकम खर्च भएको हो । निर्देशन समितिको बैठक भरपाईमा ५० हजार खर्च भएको देखिएको छ भने अनुगमनकर्ताको भरपाईमा १४ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ । यस्तै सचिवालय कर्मचारी विद्यालय शीर्षकमा ३० हजार, स्टेसनरी विद्यालयमा ५ हजार, फाराम सङ्कलनमा ४ हजार, सूचना तथा आर्थिक व्यवस्थापनमा ८ हजार, पत्रकार खाजामा ८ हजार र अन्य खाजामा २२ हजार रुपैयाँ खर्च गरेको विवरणमा देखिएको छ ।

पुरस्कार राशि २२ हजार मात्रै

नगरले अन्य शीर्षकमा अस्वाभाविक रुपमा खर्च गरेपनि पुरस्कार राशिमा भने २२ हजार मात्रै खर्च गरेको छ । प्रतियोगितामा उत्कृष्ट हुने तिन वटा विद्यालयहरूलाई पुरस्कार दिइएको बताईएको छ । जसमा प्रथम हुनेले ११ हजार, द्वीतियले ७ हजार र तृतीय हुनेले ४ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन । प्रतियोगितामा अन्य शीर्षकमा अस्वाभाविक खर्च हुँदा पनि पुरस्कारमा भने धेरै न्यून खर्च भएको देखिएको छ । बैठक र अनुगमनमा मात्रै ६४ हजार खर्च गरेको नगरले पुरस्कार राशीमा न्यून खर्च गरेर नगरले राष्ट्रपति रनिङ शिल्डमा अस्वाभाविक खर्च गरेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.