अत्तरिया – आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ ।
जनयुद्धको २९ औं वार्षिकोत्सवका अवसरमा सरकारले दिएको विदा भने सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कैलालीको मोहन्याल गाउँपालिकाले भने दिवसको अवसरमा स्थानीय बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिएको जानकारी गराएका छन् । साथै उक्त दिन सहिद बेपत्ता र घाइते भएका व्यक्तिहरू तथा आफन्तलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत जनाएका छन् । उपाध्याय माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । यस अघि सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरूको भावना चोट पर्न सक्ने भन्दै जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गरेको थियो ।
यसैबीच गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो ।