बझाङ- बझाङको जयपृथ्वी नगरपालिकाले फुटपाथ खाली गराउन थालेको छ । नगरपालिकाले नगर प्रहरी परिचालन गरी सडक पेटीमा सञ्चालन हुँदै आएका फुटपाथ व्यवसाय हटाउन थालेको हो ।

सफा, सुरक्षित एवम् सडक व्यवस्थापनको उद्देश्यले सडक आसपासमा राखेका व्यापारीहरुका सामान पूर्णरुपमा विस्थापित गर्नेगरी नगरपालिकाको अभियान अघि बढेको बताइएको छ । पटक पटक सडकको छेउछाउमा सामान राखेर व्यापार नगर्न भन्दा पनि व्यापारीहरुले अटेर गर्न थालेपछि शुक्रबार नगर प्रहरी लगाएर सामानहरु हटाइएको नगरपालिकाले जनाएको छ ।

सदरमुकाम चैनपुरमा पेटी सडकमा व्यापार गर्दा दुर्घटनाको जोखिम र फोहोर बढ्न थालेपछि सडकमा राखिएका तरकारी, फलफूल लगायतका सामान हटाइएको नगरप्रमुख चेतराज बजालले बताए ।
पहिलो पटक सचेत गराउन यस्तो गरिएको बताउँदै उनले व्यापारीहरुले आफ्नो सामान चिनेर अब उप्रान्त यस्तो कार्य गर्ने छैन भनी कागज बनाएर सामान फिर्ता लैजान सक्ने बताए ।

















