अत्तरिया – गोदावरी नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र मध्येको एक लामिताल परिसरमा सुदूरपश्चिम प्रादेशिक महोत्सव अवधिमा डुङ्गा सञ्चालन गरियो । लामितालमा कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्रालि चिसापानीले डुङ्गा सञ्चालन गरेको थियो । तर, ११ दिन सम्म सञ्चालन भएको महोत्सवमा डुङ्गा चलाएबापत महोत्सव आयोजकले भने एक रुपैयाँ पनि पाएनन् ।
कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरका सञ्चालक विष्णु प्रसाद जैशीका अनुसार लामितालमा करिब ३ हजार जनाले डुङ्गामा शयर गरेका थिए । जसबाट एक लाख ४५ हजार ८५० आम्दानी भएको थियो । आम्दानीको २० प्रतिशत रकम डुङ्गा सञ्चालकले ताल प्रयोग बापत तिरे पनि त्यो रकम न महोत्सव आयोजकले पाए, न लामितालको भोगाधिकार पाएको नेपाली सेनाले ।


नगरको मुख्य पर्यटकीय क्षेत्र हुँदा हुँदै पनि लामिताल लामो समय देखि व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुँदै आएको छ । दुर्गालक्ष्मी सामुदायिक वन भित्र पर्ने लामिताल नेपाली सेनाको भोगाधिकारमा रहेको भनिएपनि त्यसबाट नाफा भने व्यक्तिले लिदै आएका छन । लामिताललाई सामुदायिक वनले स्थानीय शंकर साउँदलाई लिजमा दिएको छ । तर, त्यसबारे हालको वन समितिले भने अनविज्ञता प्रकट गरेको छ । वनकी अध्यक्ष सिवा कडायतले वनले नै ताल लिजमा दिएको भन्ने सुने पनि कागजान नभेटिएको बताइन् । उनले वार्षिक १ लाख तिर्ने गरी लिजमा दिएको भएपनि आफू अध्यक्ष भएको दुई वर्ष यता तालबाट कुनै आम्दानी प्राप्त नभएको बताइन् ।

‘यो ताल विना प्रतिस्पर्धा एक जनालाई लिजमा दिएको सुन्नमा आएको छ । पुरानो समितिले कहिले लिजमा दिएको पनि हामीलाई थाहा छैन । अहिले एउटै मानिसलाई विना प्रतिस्पर्धा लिजमा दिएको गुनासो आइरहेको छ’ उनले भनिन् ‘ताल हामै वन भित्र रहेकाले अब यसलाई प्रतिस्पर्धा गराएर लिजमा दिने तयारी गरेका छौ ।’
फागुन २६ देखि माघ ७ गते सम्म लामितालमा ढुङ्गा चलाएबापत कमाइको २० प्रतिशत (२९ हजार १७० रुपैयाँ) तिरेको कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरका सञ्चालक जैशीका बताए । उनले डुङ्गा चलाउँदा प्रत्येक दिन नै कमाइको २० प्रतिशत तिरेको बताए । गत वर्ष पनि यसैगरी २० प्रतिशत रकम तिरे पनि यसअघि भने त्यसो नभएको उनको भनाइ छ ।

उता लामिताल लिजमा लिएका साउदले भने यस विषयमा कुरा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले महोत्सवमा डुङ्गा सञ्चालन गरेपनि आयोजकले कुनै नाफा नपाउने बताए ।
प्राकृतिक सौन्दर्यले भरिएको यो ताल ७ हेक्टर क्षेत्रफलमा फौलिएको छ । चारैतिर हरियाली रुखले भरिएको यो ताल गोदावरीको मुख्य पर्यटकीय स्थलको रुपमा लिइन्छ । नगरपालिकाले यो ताललाई पर्यटकीय स्थलका रुपमा विकास गर्नको लागि सेनाले अवरोध गरेको बताउँदै आएको भएपनि व्यक्तिगत रुपमा माछा पालनका लागि भने प्रयोग हुँदै आएको छ ।

यद्यपि लामितालको विकास गर्ने भन्दै आर्थिक बर्ष २०७५/०७६ मा गोदावरी नगरपालिकाले उपभोक्ता समिति मार्फत तालको सरसफाइ, तालको वरपर बाटो निर्माण र तालको वरपर बस्नको लागि १५ ओटा फलामका रेस्ट बेन्च, पानी निकासका लागि रेगुलेटर जडान गरिएको थियो । तर अहिले ति निर्माण गरिएका संरचना पनि जीर्ण बनेका छन ।