बझाङ- भारतमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बझाङकी नारदा थापाको मृत्यु भएको छ । तल्कोट गाउँपालिका-१ सुनिकोट भाडगाउँकी ३१ वर्षीया थापाको ग्यास सिलिन्डर पड्किएर मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो ।

सुतेको अवस्थामा राती ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको बताइएको छ । ग्यास पड्किएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

घटनामा घाइते भएका मृतक थापाका छोरा ११ वर्षीय आयुश थापाको अनुहारको सर्जरी गरिएको मृतकका देवर रमेश थापालाई उधृत गर्दै मष्टा-७ का नवराज बोहराले बताए । अहिले आयुशको अवस्थामा सुधार आएको उनले बताए । मृतक थापाको परिवार कामको सिलसिलामा लामो समयदेखि बैङ्लोरमा बस्दै आएका थिए ।

















