बझाङ- बझाङमा जिपको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान जिपको ठक्करबाट घाइते भएकी केदारस्युँ गाउँपालिका-४ बागथलाकी ६४ वर्षीया महेश्वरी देवी मल्लको मृत्यु भएको हो ।

सुपप्र ०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनलाई रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचारपछि धनगढी रिफर गरिएकोमा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

उनको मृत्युपछि आफन्तले केहीबेर राजमार्ग अवरुद्ध पारेका र अहिले राजमार्ग खुलिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिप चालक बित्थडचिर गाउँपालिका-६ का २४ वर्षीय विशाल सिंह स्याडालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
















