बझाङ- बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । हालसम्म २५ सय क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ५ सय क्विन्टल मात्रै ढुवानी हुँदा चामल अभाव भएको हो ।

ठेकेदारहरुको लापर्वाहीका कारण चामल कम मात्रामा ढुवानी भएको साइपाल-१ का वडाध्यक्ष नरेन्द्र धामीले बताए । जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी खाद्य व्यापार तथा कम्पनीमा पत्राचार गर्दा पनि कुनै पहल नभएको उनले बताए ।

गाउँपालिकामा व्यापारीहरुले मोटो चामलको ६ हजार पाँच सय रुपैयाँसम्म क्विन्टलको लिने गरेका छन् । मसिनो चामल दश हजार रुपैयाँ क्विन्टलमा विक्री भइरहेको छ । खाद्य संस्थानको मोटो चामल ५ हजार ८ सयमा किन्न मिल्ने भएपनि ढुवानी भएको छैन ।

खाद्य संस्थानमा चामल अभाव भएपछि महंगोमा चामल किनेर खानुपर्ने अवस्था आएको वडाध्यक्ष धामीले बताए । एक हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा लिएको राजापुर खाद्य संस्थानले पनि अहिलेसम्म ढुवानी नगरेको बताइएको छ ।
