बझाङ- बझाङ सदरमुकाम चैनपुरमा रहेको एक पसलमा आगलागी भएको छ । हिजो चैनपुरको लोकतान्त्रिक चोकमा रहेको सनम सिंह व्याँसीको जंगबहादुर स्टोरमा आगलागी भएको हो ।

व्याँसी पसल बन्द गरेर खाना खान गएको समयमा आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट पसलमा पूरै क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । कपडाको पसल भएकाले आगो चाँडै सबैतिर सल्केर लुगाकपडा जलेर नष्ट भएका प्रहरीले बताएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले दुई घण्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण भने यकिन हुन नसकेको र क्षतिको विवरण पनि यकिन नभएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार करिब ३० वर्ष पहिलेदेखि नै धार्चुलाका सनमले चैनपुरमा व्यापार गर्दै आएका छन् । उनले घर भाडामा लिएर व्यापार गर्दै आइरहेका थिए । घरको माथिल्लो तलामा पनि आगो सल्किँदा त्यहाँ राखिएका लुगाकपडालगायतका सबै सामान जलेका छन् ।
