काठमाडौँ- हमास र इजरायलबीच युद्ध भइरहेको तीन महिना पूरा भएको छ । तर, हमासले बन्धक बनाएका भनिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको अवस्था भने अझैँ अज्ञात नै छ ।

गत अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण सुरु गरेको प्यालेस्टिनी लडाकु समूह हमासले विपिनसहित २५० जनालाई बन्धक बनाएको थियो । अस्थायी युद्धविरामका क्रममा केहीलाई मुक्त गरे पनि विपिनसहित १३२ जना अझै हमासको नियन्त्रणमा रहेको अनुमान छ ।


नेपालले यो बीचमा विपिनको रिहाइका लागि केही प्रयास गरे पनि अवस्था भने अझै थाहा हुन नसकेको हो । परराष्ट्रमन्त्री एनपी साउदले उनको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउँदै आएका छन् ।
यता, विपिनका आमाबुवा भने समाचार हेर्दै उनी आउने बाटो कुरिरहेका छन् । उनीहरु छोरो सकुशल घर फर्कने सुखद समाचारको पर्खाइमा छन् । विपिनको आज जन्मदिन पनि परेको छ । जन्मदिनमै छोरा आफूसँग नहुँदा बुवा महानन्द जोशी भावविह्हल बनेका छन् । उनले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री साउदलाई बारम्बार आग्रह गरिरहेको बताए ।














