
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ कोल्मुडा क्षेत्रमा पार्क निर्माण गरिने भएको छ । वडा कार्यालयले पर्यटन प्रवर्द्धनका लागि कोल्मुडा, चौकी र हलौडेको बीचमा रहेको समैजी देवस्थलको प्रवेशद्वारमा पार्क निर्माण गर्न लागेको हो ।
पार्कको शनिबार वडा अध्यक्ष भीम बहादुर खड्काले शिलान्यास गरेका छन । पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा वडाबाट ५ लाख बजेट विनियोजन गरिएको अध्यक्ष खड्काले बताए । उनले चालु आर्थिक वर्षमा पार्कको गेट, घेरबार, पैदलमार्ग, कुर्सी निर्माण गरिने बताए ।
पार्क निर्माणका लागि १ निगाहा जग्गा छुट्याइएको छ । पार्क निर्माण गरिरहेको स्थान दुई वटा झोलुङ्गे पुलको बीचमा भएकाले निकै रमणीय भएको अध्यक्ष खड्काले बताए । उनले सो क्षेत्रमा हाल धेरै मानिस घुम्न आउने भएकाले पार्क बनाउन लागेको बताए । ‘अहिले झुलुङ्गे पुल हेर्न, पिकनिक खान यो ठाउँमा आन्तरिक पर्यटन धेरै आउने गरेका छन्’ उनले भने ‘हामीले आउने पर्यटकहरूलाई सहज होस भनेर यो ठाउँलाई व्यवस्थित बनाउन खोजेका हौ । यो क्षेत्रमा आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेर थप संरचना निर्माण गर्छौ ।’

















