यस्ता छन सन् २०२३ मा संसारलाई प्रभाव पार्ने १० घटना

आइतबार देखि अंग्रेजी नयाँ वर्ष २०२४ सुरु भएको छ । सन् २०२३ विश्वका लागि उतारचढावपूर्ण वर्ष रह्यो । संसारलाई प्रभाव पार्ने मुख्य १० घटना यस्ता छन ।

maya metro hospital

विश्वव्यापी तापक्रमले तोड्यो रेकर्ड

जलवायु परिवर्तन अब भविष्यको खतरा होइन, वर्तमानकै नयाँ यथार्थ बनेको छ। सन् २०२३ ले आजसम्मकै सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड बनायो। १ लाख २५ हजार वर्षयता विश्वव्यापी तापमान कहिले यति उच्च भएको थिएन। विश्वव्यापी तापमानले सन् २०१५ को पेरिस सम्झौतामा समावेश गरिएको २ डिग्री सेल्सियसको सीमा पार गर्ने संघारमा छ। यसकै नतिजास्वरूप विश्वभरि चरम मौसमी घटनाहरू भएका छन्।

attariya hospital

विश्वका ठूलठूला जंगलमा यति ठूला आगो लागे कि जुन इतिहासमा कहिल्यै लागेका थिएनन्। चरम खडेरीदेखि ठूला बाढीसम्म यसै वर्ष आए। यसरी विश्वको तापमान बढ्दा थुप्रै घटनाहरू निम्तिने हुँदा यसमा वातावरणविद् मात्र नभई सम्पूर्ण मानिस सचेत हुन थालेका छन्। स्वच्छ ऊर्जामा कुल लगानी बढेको छ।

हमासद्वारा इजरायलमा आक्रमण

सन् २०२३ सेप्टेम्बरको अन्त्यमा मध्यपूर्व आशाजनक र शान्तिपूर्ण देखिन्थ्यो। अब्राहम सम्झौताले इजरायल र अरब देशहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै थियो। साउदी अरेबियाले छिट्टै इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न सक्ने अनुमान गरिएको थियो। यमनको भीषण गृहयुद्धमा युद्धविराम जारी थियो। यिनै कारणहरूले गर्दा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मध्यपूर्व क्षेत्र अहिले पछिल्लो दुई दशकको तुलनामा शान्त भएको प्रतिक्रिया दिएका थिए। तर यसको करिब आठ दिनपछि स्थिति परिवर्तन भयो।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्‍यो। इजरायलका लागि यो विगतमा भएका हमलाभन्दा निकै ठूलो थियो। हमलामा पनि करिब १ हजार २ सय इजरायली मारिए भने करिब २ सय ४० जनालाई बन्धक बनाइयो। हमासलाई उन्मूलन पार्ने प्रतिबद्धताका साथ इजरायलले गाजाविरुद्ध हवाई आक्रमण गर्‍यो। नोभेम्बरको अन्त्यमा युद्धविरामको वार्तामार्फत करिब एक सय बन्धकलाई रिहा गरियो। तर इजरायली सेनाहरू दक्षिणी गाजामा सर्दा चाँडै नै फेरि लडाइँ फेरि सुरु भयो। प्यालेस्टिनी नागरिकको मृत्युको संख्या पनि निकै बढ्यो।

रुस–युक्रेन युद्ध
सन् २०२३ को सुरुमा विश्वभरका राजनीतिक विश्लेषकहरूमाथि एउटै प्रश्न उठेको थियो कि अब रुस युक्रेन युद्ध कुन दिशामा जान्छ। अहिले १२ महिना बितिसक्दा पनि यो प्रश्न जस्ताको तस्तै छ।

रुसले युक्रेनलाई पूर्ण रूपमा कब्जा गर्न सफल भएन भने युक्रेनले पनि रुसलाई कुनै यस्तो ठूलो झट्का दिन सकेको छैन जसको उल्लेख गर्न सकियोस्। उल्लेख गर्न लायक भनेको रुस युक्रेन युद्धमा मारिएका सेनाको संख्या मात्र हो। सन् २०२३ सेप्टेम्बर २४ सम्म यस युद्धमा ९ हजार ७ सय १ नागरिक मारिएका संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ।

चुलियो अमेरिका–चीन तनाव

सन् २०२३ को सुरुमा अमेरिका–चीन तनाव कम हुँदै गएको देखिन्थ्यो। अघिल्लो वर्ष नोभेम्बरमा इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फलदायी भेटवार्ता भएको थियो। दुई देशबीचको बढ्दो तनावपूर्ण भूराजनीतिक द्वन्द्वलाई कम गराउन अमेरिकी राज्य सचिव एन्टोनी ब्लिन्केनले गत फेब्रुअरीमा बेइजिङको भ्रमण गर्ने योजना थियो। तर त्यसपछि संयुक्त राज्य अमेरिका आकाशमा एक चिनियाँ निगरानी बेलुन देखा पर्‍यो।

अमेरिकी वायुसेनाको एफ–२२ र्‍याप्टरले दक्षिण क्यारोलिनाको तटमा यसलाई नास गरेर खसाल्नुअघि यो एक हप्ताको लागि देशभर घुमिसकेको थियो। बेइजिङले बेलुनलाई मौसमको अनुगमन गर्ने क्रममा उडाइएको थियो भन्ने प्रष्ट्यायो। तर यसलाई अमेरिकाले अस्वीकार गर्दै जासुसी कारबाहीको संज्ञा दियो। यस घटनाले संयुक्त राज्य अमेरिकामा राजनीतिक जोसलाई बढायो र ब्लिन्केनको बेइजिङ भ्रमण स्थगित गरे। सबैभन्दा चिन्ताजनक स्थिति त्यतिबेला आयो अब बेलुनलाई गोली हानेर झारेपछि अमेरिकी रक्षा सचिव लोयड अस्टिनको फोन कलसमेत चिनियाँ अधिकारीहरूले उठाएनन्। अन्ततः जुन महिनामा ब्लिन्केन बेइजिङ गए। यसको केही समयपछि नै वाशिङ्टनले चीनसँगको व्यापारमा थप प्रतिबन्धहरू लगायो। गत नोभेम्बरमा एपेक समिटमा बाइडेन र जिनपिङबीच सान फ्रान्सिस्कोमा भेटघाट भए पनि साना सम्झौताबाहेक अरु केही भएन।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)

एआईमार्फत काम गर्दा यसले आफ्नो वाचा त पूरा गर्छ नै यसमार्फत कैयौं खतरा पनि उत्पन्न हुन्छ। गत वर्ष च्याट जीपीटीको उदयसँगै मानिसले एआईलाई बुझ्दै गए। यही क्रममा च्याट जीपीटीको पछिल्लो संस्करण यसको पूर्ववर्तीभन्दा १० गुणा बढी उन्नत छ। विभिन्न देशका सरकारहरू, कम्पनीहरू र व्यक्तिहरू यसको क्षमताको शोषणमा द्रुत गतिमा लागे। योसँगै एआईले मानव सिर्जनशीलता र समृद्धिको नयाँ युगको सुरुवात गरिरहेको त छैन भन्नेमा व्यापक बहस सुरु भयो।

एआईले विभिन्न क्षेत्रहरूमा अभूतपूर्व गतिमा वैज्ञानिक सफलताहरू हात पार्दै गयो। तर अर्कोतर्फ एआईलाई लिएर सचेत गराउने वर्गले भने प्रविधिले मानिसको क्षमताको मूल्यांकन गर्न र यसले निम्त्याउने हानिलाई कम गर्ने क्षमताभन्दा छिटो विकास भइरहेको चेतावनी दिएका छन्। यसले ठूलो बेरोजगारी सिर्जना गरिरहेको छ भने विद्यमान सामाजिक असमानताहरूलाई अझै बढाउँदैछ।

सुडानमा गृहयुद्ध
गृहयुद्धले सुडानलाई तहस नहस पारेको छ। सन् २०२३ मा सुडानमा लोकतन्त्र स्थापना हुनुपर्ने थियो। तर यसको सट्टामा सुडानी जनताले झन् गृहयुद्ध भोग्न बाध्य भए। सन् २०१९ को अप्रिलमा सुडानी सेनाले देशको लामो समयदेखिको तानाशाह ओमार अल–बसिरलाई सत्ताच्युत गर्न नेतृत्व गरेको विरोध प्रदर्शन नै गृहयुद्धको मूल जरो थियो।

नयाँ सैन्य जुन्टाले नागरिक समूहहरूसँग शक्ति बाँडफाँड गर्ने र चुनावको दिशामा काम गर्ने सम्झौता गरे। यद्यपि अक्टोबर २०२१ मा सुडानी सशस्त्र बल (एसएएफ) का प्रमुख अब्देल फताह अल–बुर्हान र र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) मिलिसियाका प्रमुख मोहम्मद हमदान ‘हेमेद्ती’ डगालोले अर्को विद्रोहको नेतृत्व गरे। डिसेम्बर २०२२ मा, यी दुई व्यक्तिहरू नागरिक शासनमा दुई वर्षको संक्रमणको नेतृत्व गर्न सहमत भए।

त्यो सम्झौताले बुरहान र हेमेद्तीलाई समान बनायो र आरएसएफलाई एसएएफमा समाहित गर्न आह्वान गरियो। न त त्यो सम्झौता टिक्यो। अप्रिल २०२३ मा आरएसएफका बलले एएसएफका आधार शिविरहरूमा देशव्यापी रूपमा आक्रमण गरे। युद्धविरामका लागि वार्ताका प्रयासहरू कतैबाट भएनन्।

टर्की र सिरियामा विनाशकारी भूकम्प

गत फेब्रुअरीमा टर्की र सिरियामा शक्तिशाली भूकम्प गयो। बिहान ४ बजेर १५ मिनेटमा आएको उक्त भूकम्प ७.८ रेक्टर स्केल थियो। त्यसपछि दिउँसो १ः२४ मा फेरि अर्को ठूलो ७.५ रेक्टर स्केलको भूकम्प गयो। यससँगै कैयौं अन्य भूकम्प र त्यसका पराकम्पहरू गए। यस विनाशकारी भूकम्पले टर्कीका ५९ हजार र सिरियाका ८ हजार मानिसको मृत्यु भयो।

जनसंख्यामा भारतले चीनलाई उछिन्यो

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशको रूपमा भारतले चीनलाई उछिनेको छ। पछिल्लो शताब्दीमा चीन संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देशको रूपमा परिचित थियो। तर सन् २०२३ मा उक्त रेकर्ड समाप्त भएको छ। उक्त कीर्तिमान भारतले अहिले आफ्नो पक्षमा पारेको छ। यसको जनसंख्या करिब १.४३ बिलियन रहेको अनुमान छ।

भारत सम्भवतः आगामी दशकहरूमा पनि सबैभन्दा बढी जनसंख्या भएको देश रहनेछ। चीनको जनसंख्या घट्दो छ भने त्यहाँ बुढ्यौली उमेरका मानिस धेरै छन्। जनसंख्याविद्हरूको अनुमानमा शताब्दीको मध्यसम्ममा चिनियाँ जनसंख्या सय मिलियनले घट्नेछ।

बढ्दो अन्तरिक्ष दौड

डेढ सय पचास वर्षपहिले मानिसले ‘पश्चिम जानुहोस्’ भन्ने सल्लाह दिन्थे। तर हिजोआज ‘स्वर्ग जानुहोस्’ भन्ने गरेका छन्। विभिन्न देशहरू र कम्पनीहरूले अन्तरिक्षमा ठूलो लगानी लगाइरहेका छन्। ७७ देशहरूमा अन्तरिक्ष एजेन्सीहरू छन्। १६ देशहरूले अन्तरिक्षमा आफ्नो यान प्रक्षेपण गर्न सक्छन्। चन्द्रमा अहिले विशेष चासोको विषय भएको छ।

रुसको चन्द्रमाको प्रयास गत अगस्टमा निराशामा बदलियो जब यसको ल्यान्डर चन्द्रमाको सतहमा दुर्घटनाग्रस्त भयो। केही दिनपछि भारत चन्द्रमामा मानवरहित वाहन अवतरण गर्ने चौथो देश बन्यो। चन्द्रमाको दक्षिणी ध्रवीय क्षेत्र नजिक वाहन अवतरण गर्ने भारत पहिलो देश बन्यो। त्यसको दुई हप्तापछि भारतले सूर्यको अध्ययन गर्ने मिसन सुरु गर्‍यो।

टाइटान सबमरिन दुर्घटना

क्यानडाको न्युफाउन्डल्यान्डको तटमा अवस्थित उत्तरी एट्लान्टिक महासागरमा टाइटानिकको भग्नावशेष हेर्न जाने क्रममा टाइटन सबमरिन विस्फोट भएको थियो। टाइटन अमेरिकी पर्यटन र अभियान कम्पनी ओसियन गेटद्वारा सञ्चालित सबमरिन हो। ओसनगेटका अमेरिकी सीईओ स्टकटन रस, एक फ्रान्सेली समुद्र अन्वेषक पल–हेनरीलगायतका पाँच जना उक्त सबमरिनमा सवार थिए। दुर्घटनामा सबैको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.