काठमाडौँ- कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै परीक्षार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो ।
किस्ट अस्पतालमा लगिएका उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अर्का एक जना गम्भीर घाइते छन् । अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले बताए ।


प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी पनि जलाएका थिए ।
सिप बिल्डिङका लागि परीक्षा फारम भरेकाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने निर्णयविरुद्ध युवाले आन्दोलन गरेका हुन् । इपीएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।
अदालतले सिप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो । तर ईपीएसले मुद्दा हाल्ने युवालाई मात्र फारम खुलाएपछि अरु युवाले आन्दोलन गरेका हुन् ।

















