एजेन्सी- भारतको बिहारमा प्रहरी हिरासतबाट एक जना नेपाली भागेपछि चार प्रहरी अधिकारी निलम्बित भएका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् ।
सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार निलम्बनमा परेका हुन् । प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ ।
पर्साका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ केजी लागुऔषध गाँजासहित पक्राउ गरेको थियो । उनीहरुलाई मोतिहारीमा अदालतसामु उपस्थित गराउन लैजाँदै गर्दा सगौलीमा दुबै जना भागेका र ठाकुर पक्राउ परेका तर साह भने फरार भएका प्रहरीले आफ्नो विज्ञप्तिमार्फत जनाएको छ ।